सप्तरी घटना : आमा खोज्दै रुन्छन् जिउँदै जलाइएकी राजकुमारीका छोराछोरी

पेट्रोल छर्केर आगो लगाइएकी सप्तरीको बोदे बर्साइन नगरपालिका–१ धनगढीकी राजकुमारी साहको उपचारको क्रममा शनिबार राति मृत्यु भयो । राजकुमारीको मृत्युपछि उनका आठ वर्षका छोरा जितेन्द्र किरिया बसेका छन् । दागबत्ती पनि उनैले दिए ।

जितेन्द्र आमा खोई भन्दै रोइरहन्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

सेतो वस्त्र अनि हातमा हरियो बाँसको करची बोकेका यी बालक देख्दा मृतकको घरमा आउने आफन्त र छिमेकी धेरैलाई रुवाउँछ । राजकुमारीकी दुई वर्षकी छोरी पनि छिन् । ‘छोरा र छोरी दुबैले आमा कहाँ छ भनेर सोधिरहन्छन्’ राजकुमारीका पति रवीन भन्छन्, ‘बच्चाको रुवाइले मलाई पनि रुवाएको छ ।’

रवीन अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा छन् । ‘म बाहिरको काम गर्दा उनले घरको सबै काम सम्हाल्थिन्’ उनी भन्छन्, ‘उनले घरमै कपडा सिउने काम पनि गर्थिन् । हामी खुशी–खुशी जीवनयापन गर्दै आएका थियौं ।’

आफू काम विशेषले बोदे बर्साइन बजार गएको अनि आमा नजिकैको बारीबाट पराल लिन गएको बेला भाइ परमेश्वरले राजकुमारीलाई जलाएर भागेको उनले बताए ।‘सुरुमा उसले लागूऔषध पनि प्रयोग गथ्र्यो, तर बीचमा छाडेको थियो । त्यही भएर बिहे पनि गराइदिएँ’ उनी भन्छन्, ‘सुध्रेको जस्तो लागेको थियो । तर यस्तो घटना भयो ।’२१ माघको बिहान घरमा रोटी पकाइरहेको बेला २० बर्षीय परमेश्वरले २७ बर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका रविनले बताएका छन् । परमेश्वर हाल फरार छन् ।

महिला आयोगद्वारा अनुगमन
राजकुमारीको जलाएर हत्या गरेको घटनाको राष्ट्रिय महिला आयोगले अनुगमन गरेको छ ।
घटनाको जानकारी पाएपछि आयोगकी अध्यक्ष कमला पराजुली नेतृत्वको टोलीले मृतकको घर बोदे बर्साइन नगरपालिका–१ धनगढी स्थलगत जानकारी लिएको छ ।टोलीले घटनाबारे मृतकका पति रबिन र परिवारका अरु सदस्यसँग कुराकानी गरेका छन् । अध्यक्ष पराजुलीले घटनाबारे जानकारी लिँदै दोषीलाई कानुन बमोजिम कारबाही गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस