चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँदै एमाले, भोलि दलको बैठक बस्दै

काठमाडौं l सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

गत वर्षमा २३ फागुनमा एमाले र माओवादी केन्द्री एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको स्रोतले बतायो ।

उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको बुझिएको छ । एमालेले सबै सांसदलाई काठमाडौं बोलाइसकेको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएपछि त्यसलाई काउन्टर दिन चार न्यायाधीशविरुद्ध महाअभियोग ल्याउन लागिएको हो ।

जबकि संसदमा पाँच दलको गठबन्धन बहुमतमा भए पनि दुई तिहाइ बहुमत छैन । एमालेसँग पनि दुई तिहाइ बहुमत पुग्ने अवस्था नै छैन ।

सोमबार एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस