एमसीसी पास गर्न लागेको भन्दै भोलि फागुन ४ गते ५ कम्युनिस्ट पार्टीद्वारा नेपाल बन्दको घोषणा

बुटवल ।राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत नेकपासहित ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले फाल्गुन ४ गते बुधबार नेपाल बन्दको आव्हान गरेका छन् ।

यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ ।नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले घोषित कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्न जोड गरेपछि मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने पछि हटेको स्रोतले जनायो ।

बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

रुपन्देहीमा ६ दलको बैठक, बन्दलाई प्रभावकारी बनाउने निर्णय रुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले बन्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ ।

६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अपील गरेको छ ।

बन्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस