भोलि फागुन ४ गते बन्द घोषणा भएपछि गृहमन्त्रालयले दियो ७७ वटै जिल्लामा यस्तो निर्देशन (बिज्ञप्ति सहित)

काठमाडौं :

बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ।

सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको आह्वान गरेका छन् ।

यस्तै सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

सरकारले भोलि नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

बुटवलमा बसेको बैठकले बन्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ । ६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अपील गरेको छ ।

बन्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस