गाउँपालिका अध्यक्षकी अनमी छोरी र गाउँपालिकाका सूचना अधिकृत गरीबको सूचीमा !

दार्चुला, दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि विपन्नको सूचीमा राखेको फेला परेको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो।कांग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम विपन्नको सूचीमा भेटिएको हो।

सावित्रीले गरिब घरपरिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो।तर, उनको आर्थिक स्तर तथा अवस्था भने त्यस्तो छैन। सावित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा कार्यरत छन्। उनी त्यहाँ अनमी हुन्। उनका पति पनि नेपाल प्रहरीमा कार्यरत छन्।

यस विषयमा उनका बुवासमेत रहेका गाउँपालिका अध्यक्ष कार्कीले डाटा सँकलनको क्रममा सुपरिवेक्षक र गणकहरुका साथै छोरीले पनि त्रुटी गरेको भन्दै सो त्रुटी गाउँपालिका कार्यसमितिको बैठक बसी सच्याउने जानकारी दिए।

यस्तै दार्चुलाकै ब्याँस गाउँपालिकाका सूचना प्रविधि अधिकृत शिवराज बडू अति गरिबको सूचीमा रहेका छन्। परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूची संकलन गर्दा वडा नं ६ का बासिन्दा बडू अति गरिबमा परेका हुन्। ब्याँस गाउँपालिका एक कर्मचारीका अनुसार अधिकृत बडूले आफ्नो नाम हटाउनका लागि निवेदन पेश गरिसकेको छन्।

प्रतिक्रिया दिनुहोस