ओलीलाई एमालेको अध्यक्षबाट हटाइदिएपछि सबै समस्या समाधान हुन्छ – माधव नेपाल

काठमाडौं, ४ फागुन ।पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई नेकपा एमालेको अध्यक्षबाट हटाइदिएपछि देशका सबैजसो समस्या समाधान हुने बताएका छन् ।

प्राइम टाइम टेलिभिजनबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले भने, “नेपालका लागि केपी ओली निकै घाँडो भएका छन् ।उनी परिवर्तनविरोधी, व्यवस्थाविरोधी र संविधान र संसद् विरोधी हुन् । त्यसैले हामीले ओलीलाई अध्यक्षबाट मात्र होइन, सदस्यबाट पनि निकालेका थियौं । उनले हामीलाई अवैध भनेर फूर्ति गर्ने ? उनको दम्भ र अहंकारले विनाशतर्फ लान्छ । बामालेबाट एमाले बनोस्, सबै ठिकठाक हुन्छ ।”

एमसीसीका कारण ५ दलीय गठबन्धनमा दरार नआउने दाबी पनि उनले गरे । उनले थपे, “गठबन्धन केपी ओलीको बा पार्टी हो र टायँ टायँ फिस हुने ? दक्षिणपन्थी र प्रतिगामी शक्तिका कारण वामलोकतान्त्रिक गठबन्धन बनेको हो ।

हामीलाई हतारमा बोल्ने, फुर्सदमा पछुताउने अवसर छैन । अमेरिकाले एमसीसीलाई आर्थिक सहयोग मात्र भनेको छ । त्यसको अविश्वास गर्ने कुरा होइन । तर प्रमुख कुरा जनता र पार्टी पंक्तिले पनि विश्वास गर्नुपर्यो नि । गठबन्धनप्रतिको हाम्रो प्रतिबद्धता कायमै छ ।”एमसीसीमा ५, ७ बुँदामा स्पष्ट हुन बाँकी रहेको पनि उनले औंल्याए । पूर्वप्रधानमन्त्री नेपालले भने, “५५ अर्ब त्यति ठूलो पैसा होइन । निजगढ विमानस्थल बनाउन नै १ खर्बभन्दा बढी पैसा चाहिन्न्छ ।

एमसीसीका बारेमा ५-७ इस्यूमा क्लियरिफिकेसन चाहिन्छ । सैन्य गठबन्धन हो कि होइन ? सैन्य रणनीतिको साझेदार बन्नुपर्ने हो कि होइन ? सार्वभौमिकता जोखिममा पर्छ कि पर्दैन ? रोजगारीको अधिकार नेपालीले पाउँछन् कि पाउँदैन ।

यी तमाम प्रश्नमा एमसीसीको स्पष्ट जवाफ आएपछि यसबारे छलफल चलाउनुपर्छ ।”उनले प्रधानन्यायाधीशविरुद्ध आएको महाभियोग प्रस्तावका कारण स्थानीय तहको निर्वाचन नसर्ने पनि बताए । उनले भने, “स्थानीय तहको निर्वाचन समयमै हुन्छ । वैशाख ३० मा हुन्छ । यसमा कुनै दुबिधा छैन ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने उनले औंल्याए । नेता नेपालले भने, “काठमाडौं विमानस्थलले १५ लाख पर्यटक थाम्न सकेको छैन ।
५० लाख, १ करोड पर्यटक आउने हो भने थेग्न सक्छ ?

निजगढमा विमानस्थल बनाउने क्रममा रुख काट्दा पर्यावरणमा असर गर्छ भनेर हल्ला चलाइएको छ ।माधव नेपालको नाम चम्किन्छ भनेर कतिपय तत्व डराएका छन् । नक्कली र हावादारी कुरा गरेर रोक्ने षड्यन्त्र गरिरहेका छन् । म निजगढलाई आइडियल विमानस्थल बनाउने भनेर २०५१ देखि लागेको हुँ ।”अर्को प्रसंगमा उनले पर्यटन मन्त्री प्रेमबहादुर आलेको आँटको प्रशंसा पनि गरे । उनले थपे, “प्रेम आलेले आँट देखाउनुभएको छ, राम्रो काम गर्नुभएको छ । आँटसँगै विनम्र पनि हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस