धर्मराज तामाङ र नानी तामाङ एकसाथ पक्राउ, कारण थाहा पाउदा बिश्वासनै गर्नुहुन्न

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा झुटो विवरण पेस गरी नागरिकता लिन खोज्नेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नं. ८ को वडा कार्यालयबाट आवश्यक विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि अनुसूची फारम प्रमाणित गरी आएका धर्मराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

धर्मराजले साबिक खार्पाचोक गा.वि.स. वडा नं.३ हाल रोशी गाउँपालिका वडा नं. ८ घर हुने नानी तामाङ र जमुना तामाङको छोरा बनेर आवश्यक कागजपत्र बनाएका थिए । उनले नानी तामाङ र जमुना तामाङको छोरा हुँ भनी जन्म दर्ता प्रमाणपत्र समेत बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।

धर्मराजको नक्कली पिता बनेका रोशी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ६४ को नानी तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नको लागि उक्त प्रमाणित अनुसूची फारम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरेका थिए ।

वंशजको आधारमा नेपाली नागरिकता पाउँ भन्ने व्यक्ति र छोरा हो भनी सनाखत गर्ने बाबुसँग आवश्यक कुराहरू सोधपुछ गर्दा निजहरूले दिएको जवाफ र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लेखित ब्यहोरा फरक पर्न गयो ।

आवश्यक सोधपुछ पश्चात् छोरा हुँ भनी नागरिकता दाबी गर्न उपस्थित भएको व्यक्ति र बाबु हुँ भनी सनाखत गर्न उपस्थित भएको व्यक्ति सहोदर बाबु–छोरा नभएको खुल्न आएको थियो । झुटो विवरण पेस गरी सरकारी कार्यालय समेतलाई झुक्यानमा पारी नक्कली बाबु छोरा बनी जन्म दर्ता समेत बनाई नेपाली नागरिकता लिन खोजेकाले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई नेपाली नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम हुने कार्य गरी नेपाली नागरिकता लिने उद्योग गरेको कसुरमा आवश्यक अनुसन्धान पश्चात् पक्राउ गरिएको डीएसपी खतिवडाले जानकारी दिएका छन् । पक्राउ पश्चात् काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस