सत्रजना महिलासँग बिहे गरी लाखौँ ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा परे

सत्र जना महिलासंग बिहे गरी लाखौँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। उनले आफूलाई कहिले डाक्टर त कहिले स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीका रूपमा चिनाई जालमा फसाएर १७ जना महिलासँग बिहे गर्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक पुरुषलाई भारतको भुवनेश्वर प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा छयसट्ठी वर्षीय रमेशचन्द्र स्वाईं रहेका छन्। उनलाई आइतवार भुवनेश्वरको खन्डगिरी क्षेत्रस्थित एउटा अपार्टमेन्टबाट पक्राउ गरी सोमवार न्यायिक हिरासतमा पठाइएको छ।

चिप्ला र मीठा कुरा गरी महिलाहरूलाई फसाएका रमेशमाथि आठवटा राज्यका १७ जना महिलासँग बिहे गरी पैसा ठगेको आरोप लागेको छ।पीडित महिलामध्ये चारजना ओडिशाका, तीनजना असम र दिल्लीका, दुई-दुई जना मध्य प्रदेश र पञ्जाबका तथा एक-एक जना उत्तर प्रदेश, झारखन्ड र छत्तीसगढका रहेका छन्।

उनले ती १७ जना महिलाबाहेक अरूलाई पनि फसाएको हुन सक्ने प्रहरी अनुमान लागेको छ। साथै सत्रमध्ये तीनजना महिलाबारे उनको गिरफ्तारीपछि मात्रै थाहा पाएको समेत प्रहरीले जानकारी गराएको छ। ती सत्रजना बाहेक अरुलाई पनि फसाएको वा नफ़साएको बारे थप अनुसन्धान भईरहेको भुवनेश्वरका डीएसपी उमाशङ्कर दासले जानकारी दिएका छन्।
दिल्लीको एउटा विद्यालयमा पढाउने एक महिला रमेशको अन्तिम शिकार भएकी थिइन्।

आफूहरूलाई धोका दिएको र ठगेको विषयमा ती महिलाहरूले प्रहरीमा उजुरी दिएका थिए।आफूलाई स्वास्थ्य मन्त्रालयको उपमहानिर्देशक बताउँदै ती महिलासँग नजिक भएका रमेशले सन् २०२० मा एउटा मन्दिरमा उनीसँग बिहे गरे।केही दिन दिल्लीमा बसेपछि नवदुलहीलाई लिएर उनी भुवनेश्वर फर्के र त्यहाँ एउटा अपार्टमेन्टमा बस्न थाले।बसाईको क्रममा ती महिलालाई रमेश पहिल्यैदेखि विवाहित रहेको थाहा भयो। उनले सन् २०२१ को जुलाई ५ मा प्रहरीमा उजुरी दिएकि हुन्।

प्रहरीले खोजी गरिरहेको चाल पाएर रमेशले आफ्नो मोबाइल नम्बर परिवर्तन गरी त्यहाँबाट भागेर गुवाहाटीमा बस्ने अर्की पत्नीसँग उनी बस्न थाले। सात महिनापछि रमेश पुन भुवनेश्वर फर्किए।उनी अपार्टमेन्ट पुग्नासाथ दिल्ली माइती भएकी श्रीमतीले प्रहरीलाई खबर गरिन्।अन्ततःरमेश प्रहरीको फन्दामा परे।

पक्राउ पछि उनी ओडिशाको पाटकुराका बासिन्दा रहेका र सन् १९८२ मा पहिले बिहे भएको खुलाएका छन्। उनको पहिलो श्रीमतीबाट तीन छोरा समेत रहेको र तीनैजना डाक्टर हुन् भने उनीहरू विदेशमा रहेको समेत खुलेको छ। पहिलो बिहे भएको २० वर्षपछि सन् २००२ मा उनले एक महिलालाई पहिलो शिकार बनाएका थिए।पहिलो शिकार बनेकी महिला झारखन्डकी थिइन् र ओडिशास्थित एक अस्पतालमा उनी डाक्टर रहेको प्रहरीले जानकारी दिएको छ। केही दिनपछि सरुवा भयो र उनी इलाहाबाद गइन्।

रमेश पनि त्यहाँ गएर उनीसँगै बस्न थाले। मीठामीठा कुरा गर्दै ती महिलाबाट रमेशले पैसा र गहना लिइरहे।रमेशले आफ्नी शिक्षिका श्रीमतीबाट १३ लाख भारु र एक महिला प्रहरी अधिकारीबाट १० लाख भारु ठगि गरेको भुवनेश्वर प्रहरीले खुलाएको छ । बिहे हुन बाँकी अलि बढी उमेरका महिला, एकल महिला र सम्बन्धविच्छेद भइसकेका महिलालाई उनि आफ्नो शिकार बनाउथे। तर शिकार बनाउनुअघि उनले ती महिला जागिरे र पैसावाल भए वा नभएको पक्षबारे विचार गर्थे।निसाना तयार भएपछी उनी म्याट्रिमोनिअल वेबसाइटको सहाराबाट उनी महिलाको सम्पर्कमा आउने गर्थे।

विश्वास दिलाउनका लागि उनी डाक्टर र स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीको नक्कली परिचयपत्र पनि बनाएका थिए। महिलाहरूलाई फसाएर बिहे गर्दै ठग्नुबाहेक अन्य मानिसहरूलाई पनि ठगेको उनी माथी आरोप रहेको छ।मेडिकल कलेजमा अध्ययनका लागि भर्ना गराइदिने आश्वासन दिएर कैयौँ युवाहरूबाट रकम ठगी गरेको समेत उनिमाथि आरोप रहेको छ।

प्रहरीका अनुसार सन् २००६ मा मेडिकलका विद्यार्थीहरूलाई ऋण दिलाउनका लागि फर्जी कागजपत्र बुझाएर विभिन्न ब्याङ्कबाट एक करोड भारुभन्दा बढी ठगी गरेका छन्। त्यति मात्रै नभई मेडिकल कलेज खोल्नका लागि अनुमति दिलाउने झूटो आश्वासन दिएर एउटा गुरुद्वारासँग १३ लाख भारु ठगेको पनि आरोप रहेको छ। बिबिसी नेपाली न्युज बाट साभार

प्रतिक्रिया दिनुहोस