‘अनुदानमा आएको एमसीसी त चाहिँदैन भन्ने हो भने फेरी कुन मुखले ऋण र सहयोग माग्ने ?’

काठमाडौं । सत्तापक्षकै दलको विरोधका कारण काठमाडौको सडक तातेको छ । अमेरिकी सहयोग एमसीसीका कारण अहिले मुलुकमा रडाको छ । राजनीति दलहरुबीच ध्रुविकरण भएको छ । नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने औपचारीक निर्णय गरेपछि धु्रविकरण बढेको हो । प्रधानमन्त्री शेरवहादुर देउवा अब जसरी पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् ।

त्यसका लागि उनले सत्तापक्ष र विपक्ष सबै दलसंग परामर्श जारी राखेका छन् । एकातिर एमसीसीमा दलहरुबीच सहमति जुट्न सकेको छैन भने अर्को तिर नेकपा एमालेले सभामुखको राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । जसका कारण एमसीसीका बारेमा कुनै निर्णय हुन पाएको छैन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी समेत नलिएपछि नेपालले पूर्वाधार बनाउनका लागि कसैसँग पैसा लिने अवस्था नरहने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले यतिबेला सबै जिम्मेवार बन्नुपर्ने बताए।

शुक्रवारको बैठक १० मिनेटमा सकिएको थियो । एमालेले गरेको अवरोधका कारण शुक्रवार पनि संसद बैठक सूचारु हुन पाएन । संसद भवनवाट बाहिरिदै गरेका नेता थापाले भने, पूर्वाधारका लागि आएको ५०, ६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन।

अनुदान त चाहिँदैन भनेपछि ऋण त लिने कुरै भएन। अब अनुदान कतैबाट लिनुभएन। ऋण कतैबाट लिनुभएन। अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्नेचाहिँ कसरी हो ? कसैले बताइदिनुपर्‍यो, उनले भने।

सित्तैमा आएको अनुदान नचाहिने भएपछि ऋण किन लिने ? उनको भनाइ थियो। उनले आफू एमसीसीका सन्दर्भमा संसद्‌मा छलफल कुरिरहेको बताए। जे निर्णय गर्ने हो संसदवाटै गर्नुपर्ने उनको भनाई थियो । म त संसद्को डिबेट कुरिरहेको हो। एउटा एउटा बुँदामा डिबेट गरौँला भनेर कुरेको होु, उनले भने, यहाँ त डिबेट नै गर्न नपाएर मात्रै हो। होइन भने, हामी सबै जवाफदेही हुनुपर्छ। हामी सबैले यसमा काम गरेर आएको हो।

प्रतिक्रिया दिनुहोस