एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति चीनले जनायो चिन्ता, भन्यो– ‘धम्कीपूर्ण कूटनीति’को चीन विरोध गर्छ

काठमाडौं :अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा चीनले मुख खोलेको छ ।चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको छ । चीनले आफू ‘ध’म्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई द’बाब दिएको छ, यसमा चीनको धारणा के हो ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले ‘दबाबपूर्ण कूटनीतिक’ विरोध गरेका हुन् ।

‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले आफ्नो समाचारमा वाङको भनाई उद्वृत गरेको छ ।

उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहेन प्रतिबद्धता समेत जनाए ।

‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफै विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’ वाङले भने ।

केहीदिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरी फेब्रुअरी २८ भित्र एमसीसी अनुमोदन गर्न दबाब दिएका थिए । त्यति मात्र होइन उनले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुर्नविचार गर्ने र चीनको दबाबको कारण अनुमोदन हुन नसकेको भनि बुझ्ने समेत जनाएका थिए ।

दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले नेपालका नेताहरूलाई फोन गरी २८ फेब्रुअरीसम्म एमसिसी सम्झौता अनुमोदन गर्न भनेका थिए। नेपाल र अमेरिका सन् २०१७ मा एमसिसी सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका थिए।

प्रतिक्रिया दिनुहोस