चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई उच्च अदालत द्वारा जन्मकैदको फैसला

मकवानपुर, चितवन राष्ट्रिय निकुञ्जभित्र सेनाकोे यातनाबाट गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा एक जनालाई उच्च अदालत पाटन हेटौंडा इजलासले जन्मकैदको फैसला सुनाएको छ । सो मुद्धामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो । बुढाको यातनाका कारण घाइते भएका चेपाङको ०७८ साउन ८ मा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो । जिल्ला अदालतले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । ९ महिना सजाय हुने गरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस