जमिनमुनिबाट निस्कियो अत्यन्तै दुर्लभ रत्न, ५ अर्ब ७६ करोड रुपैयाँमा बिक्री हुँदै

काठमाडौं। एउटा नीलो हीराको लिलामी हुँदैछ । लिलामीमा यो हीराको मूल्य ४८ मिलियन डलर (५ अर्ब ७६ करोड रुपैयाँ) पर्ने अनुमान गरिएको छ । यो अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा ठूलो नीलो हीरा भएको बताइएको छ । यो ब्लू डायमण्डलाई डी बीयर्स कलिनन ब्यु नामले चिनिन्छ । यो १५.१० क्यारेटको छ ।

यो अत्यन्तै दुर्लभ रत्नलाई आउँदो अप्रिलमा हङकङ लग्जरी विक सेलमा फाइन आर्टस कम्पनी सोथेबीजले लिलामीको लागि पेश गर्नेछ । यसको मूल्य ४८ मिलियन डलर आंकलन गरिएको छ तर पारखीको इच्छाका कारण यसको मूल्य यो भन्दा पनि धेरै पर्न सक्छ । इनस्टोर म्यागजिनका अनुसार सोथेबीजका एसिया प्रमुख पत्ती वोंगले भनेकी छिन् ‘बजारमा कुनै पनि प्रकारका नीलो हीरा दुर्लभ छन् तर यो हीरा दुर्लभभन्दा पनि दुर्लभतम छ ।’

यो हीरा पहिलो पटक अप्रिल २०२१ मा दक्षिण अफ्रिकाको कलिनन खानीमा खोजिएको थियो । कलिनन खानी दुर्लभ नीलो रत्नको खोजीको लागि विश्वका सबैभन्दा दुर्लभ स्थानमध्ये एक हो । सोथेबीज आफ्नो हङकङ लग्जरी विक सेलको क्रममा दी बीयर्स कलिनन ब्लु डायमण्डलाई लिलामी गर्नको लागि तयार छ ।

जेमोलोजिकल इन्स्टिच्युट अफ अमेरिकाले यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो आन्तरिक रुपले दोषरहित स्टेप कट ज्वलन्त नीलो हीरा भनेको छ । सोथेबीजका अनुसार लिलामीमा अहिलेसम्म १० क्यारेटभन्दा अधिकका केवल ५ हीरा मात्रै आएका छन् । यीमध्ये कुनै पनि १५ क्यारेटभन्दा अधिकको थिएन । तर, यो हीरा भने आफैंमा निकै खास छ किनकि यो १५.१० क्यारेटको छ ।

प्रतिक्रिया दिनुहोस