लामो समयदेखि उपत्यकाको फोहोर नउठ्दा चोकचोकमा फैलियो दुर्गन्ध !

काठमाडौँ, उपत्यकाको फोहोर फागुन १ गते देखि उठाउन नसक्दा शहरका चोकहरु दुर्गन्धित भईरहको छ ।पासाङल्हामु राजमार्गका बासिन्दाले हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै बाटो अवरोध गरेका छन्। जसकारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन सकिएको छैन। फोहोर उठाउन नसक्दा नौ दिनदेखि उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको पाइन्छ ।

सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन महानगरपालिकाले भने सडक विभागलाई आग्रह गरेको। कामपा वातावरण विभाग प्रमुख सरिता राईले भने अठार स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालिन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको बताउनु भएको छ।

२०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहोर विसर्जनमा अवरोध हुँदै आएको समेत उहाँले जानकारी दिनुभयो। ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’,र ‘त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आइरहेको छ ।उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । कामपाका अनुसार हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको हो।

कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालिन समाधन खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाइएको छ ।

सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा अपजस भने कामपालाई लगाइने गरिएको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको छ तर निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या उत्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस