‘एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन ’प्रचण्डलाई देउवाको आग्रह

काठमाडौँ, अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप तीव्र रहेको देखिन्छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबारको भेटको भोलिपल्ट देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटे गरेका छन्।

भेटका लागि देउवा आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका हुन्। उनले भेटमा संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन्। विपक्षमा मतदान गर्ने वा अनुपस्थित भएर असहमति प्रकट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।

सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा उभिने यसअघि नै निर्णय गरिसकेका छन् । गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेपछि हिजो बेलुका एमाले अध्यक्ष ओलीसँग भेटेर प्रधानमन्त्री देउवाले सहयोग मागेका थिए तर ओलीले पहिले आफूहरुको माग पूरा गर्न आग्रह गरेका थिए। एमालेले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस