मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- ‘परिस्थिति जस्तो पनि हुनसक्छ, तपाईंहरू तयार रहनुस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने संकेत गरेकाे खुलेकाे छ ।गत बुधबार बसेको पूर्व स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले जस्तोसुकै परिस्थिति पनि आउनसक्ने भन्दै त्यसका लागि तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएको माओवादी केन्द्र उच्च स्रोतले जानकारी दियो ।

‘सरकारबाट बाहिरिने विषयमा छलफल भएको थियाे,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’बैठक गाेप्य राखिएकाले छलफलका विषयवस्तु सार्वजनिक नभएकाे हाे ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्तारुढ दलहरुबीच सहमति हुन सकेको छैन । नेपाली कांग्रेस यसको पक्षमा खुलेर लागिरहँदा माओवादी केन्द, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ ।

फागनु ८ गतेको प्रतिनिधिसभा बैठकमा पनि माओवादी केन्द्रको असहमति हुँदाहुँदै एमसीसीको प्रस्ताव संसदमा टेबुल भएको थियो । बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले उठेर यसको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस