काठमाडौंको बालाजु र कपनबाट ३ जना पक्राउ

फागुन, काठमाडौं । प्रहरीले दुईजनालाई बालाजु क्षेत्रबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ लामबगर घर भई २४ वर्षीय प्रवीण महर्जन र सोही नगरपालिका बस्‍ने ३० वर्षीय सुशील श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट तथा प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नुफिन ३२/३२ थान गरी ९६ थान एक्पुल सेट, ओप्पो, सामसुङ र रेडमी कम्पनीको तीनवटा मोबाइल र नगद ६१ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा एक पक्राउ, नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा काठमाडौंले ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भई बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

रामेछाप मन्थली नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने कृष्णमाया घिसिङ र बुढाथोकीबीच एक वर्षअघि चिनजान भएको थियो। बुढाथोकीले घिसिङलाई काठमाडौंको साँखुस्थित साल्खामा रहेको ८ आना जग्गा जम्मा ३५ लाखमा मिलाइदिन्छु भनेका थिए।

गत वैशाख ८ गते बुढाथोकीले आफ्नो नामको जग्गाधनी पुर्ना र नक्साको फोटोकपी घिसिङलाई दिएका थिए। त्यसरी उनले ३५ दिनमै राजीनामा पास गराइदिन्छु भन्दै जग्गाको बैना कागज गरिसकेका थिए। त्यसबापत घिसिङबाट उनले ३३ लाख आफ्नो बैंक खातामा जम्मा गराएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

तर त्यसपछि भने आलटाल गरी जग्गा पास नगरी झुलाइरहेका थिए। पीडितले मालपोत कार्यालय साँखुमा गएर बुझ्दा सो जग्गा बुढाथोकीको नाममा नभएको खुलेको हो। त्यसरी आफू ठगिएको थाहा पाएपछि उनले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धान गर्दा उनले नक्कली जग्गापुर्जी बनाएर ठगी गरेको भन्दै प्रहरीले उनलाई कपनबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकूमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस