एमसीसीविरुद्ध आज नेपाल बन्द गर्ने घोषणा (बिज्ञप्ति सहित)

काठमाडौ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोररेशन एमसीसी सम्झौताको विरुद्धमा नेपाल बन्दको घोषणा गरिएको छ।एमसीसी संसदबाट रोक्न माग गर्दै समाजवादी केन्द्र नेपालले नेपाल बन्दको घोषणा गरेको। सो पार्टी फागुन १२ गते नेपाल बन्दको घोषणा गरिएको भन्दै गृह मन्त्रालयमा पत्र पठाएको छ। संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेजी गर्न माग गर्दै नेपाल बन्दको घोषणा गरिएको समाजवादी केन्द्र नेपालले जनाएको छ।

साथै, महंगी ,पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिसमेत फिर्ता गर्न माग गर्दै बन्दको आयोजना गरिएको समाजवादी केन्द्र नेपालकी कार्यबहाम महासचिव सुशिला बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसअघि सो पार्टीले एमसीसी प्रतिनिधिसभाबाट खारेज गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएको थियो। एमसीसी नेपालको संविधानभन्दा माथि भएको भन्दै उक्त पार्टीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेको हो।

फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि रहने गरी पास गर्न लागेकोले उक्त सम्झौता खारेज भागी भएकाले राष्ट्रपति कार्यालयमा निवेदन दिएको समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले बताएका थिए।

नेपालको संविधानको भाग २८ को धारा ६१ (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ भन्ने प्रावधान रहेकोले एमसीसीको पक्ष र विपक्षमा विभाजित अबस्थालाई एउटा निचोड दिन सरकारले पास गर्न खोजेको एमसीसी खारेज गर्नु आवश्यक भएको उक्त पार्टीको निश्कर्ष थियो। संविधानको भाग २८ धारा २६७ को उपधारा (२) बमोजिम राष्ट्रपति नेपाली सेनाको परमाधिपति समेत भएको कारण आफ्नो देशको अस्तित्व सिद्धिन लागेकोले पनि सो एमसीसी सम्झौता खारेज गर्न आवश्यक देखिएको निवेदनमा उल्लेख थियो।

साथै धारा ६६ (१) मा दिएको अधिकार अनुसार असंवैधानिक कदमलाई रोक्न आवश्यक देखिएको जनाएको छ। त्यस्तै, संविधानको भाग ३० धारा २७३ उपधारा (१) बमोजिम संकटकालीन अबस्थाको घोषणा गर्न पनि, सम्माननीय राष्ट्रपति ज्युको अधिकार क्षेत्र भित्र पर्ने हुँदा तत्काल संसद विघटन गरी एमसीसी सम्झौता टेबल गर्ने र पास गर्न खोज्नेहरुलाई गिरप्तार गरी राजद्रोहको मुद्धा लगाई आवश्यक कारबाही गर्न पर्ने पनि माग गरिएको छ।

तेस्तै, मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल भएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा बहुमत जुटाउन कस्सिएका छन्। अहिले प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास गराउन सहयोगको लागि राजनितिक दलहरुसँग आग्रह गरिरहेका छन्।

गठबन्ध दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संसदमा एमसीसीको पक्षमा मत नदिने बताउदै आएपछि अहिले प्रधानमन्त्री देउवाले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउनमा लागेका छन्। मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति समेत रहेका देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बिष्णु रिमाल र उपमहासचिव विष्णु पौडेल पनि समेल रहेको उक्त भेटवार्तामा,

देउवाले मसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए। देउवाले यस्तो आग्रह गरेपछि अ‍ोलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताएका थिए। भेटका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए।

तर ओलीले अस्विकार गरिदिए। ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा गरेका थिए। त्यसको भोलिपल्ट अर्थात बुधबार नै प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँणलाई पठाए। गृहमन्त्री खाँण ओलीलाई भेट गर्न उनकै निवास बालकोट नै पुगे। उनले पनि ओलीलाई एमसीसी अनुमोदन गराउन सघाउन आग्रह गरे।

जवाफमा ओलीले गठबन्धन टुट्नुपर्ने र संसदमा आफ्नो दल सहभागी हुने वातावरण मिलाउनुपर्ने कुरा गरे। माओवादी र एकिकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भनेसँगै प्रधानमन्त्री देउवाले ओलीलाई एकोहोरो फकाइरहेका छन्।

यता, माओवादी र एकीकृत समाजवादीमाथि आफ्नै पार्टीभित्र र बाहिरबाट सरकार छोड्न समेत दबाब पनि आएको छ। एमसीसी टेबल गर्न दिने अनि फेरि विरोधका लागि आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने यस्तो दोहोरो चरित्र ठिक नहुने भन्दै सरकार छोड्न दबाब आइरहेका छन्। गठबन्धनकै एक घटक जनमोर्चा भने एमसीसीको विरोधमै छ। जसपाको उपेन्द्र यादव पक्ष माओवादी र प्रमुख एकीकृत समाजवादीले गर्ने निर्णय कुर्दै चुप बसेको छ। यस्तै जसपाको डा बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा छ।

प्रतिक्रिया दिनुहोस