लेटाङको खोँचमा बालिकाको शव : बलात्कारपछि हत्या, एक वृद्ध पक्राउ !

मोरङको लेटाङ नगरपालिकामा १२ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी उनको शव जङ्गलमा खाल्डो खनेर गाडिएको पुष्टि भएको छ । शुक्रबार बिहान लेटाङ–८ स्थित लालहीरा सामुदायिक वनभित्र स्थानीय ज्यामिरे टोलकी वर्षीया करुणा राईको शव भेटिएको थियो ।

गत बुधबार अपराह्न ४ बजेबाट बेपत्ता रहेकी उनी जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्थिन् । दुई दिनअघि स्कुलबाट घर फर्किनेक्रममा बेपत्ता भएकी उनलाई बलात्कारपछि हत्या गरेर जङ्गलमा गाडिएको पुष्टि भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न भएको आरोपमा प्रहरीले लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको हो । बुधबार साँँझ विद्यालयबाट घर फर्किँदै गरेकी उनलाई ती वृद्धले बाटोमा एक्लै भएको अवस्थामा नियन्त्रणमा लिएर बलात्कार गरेका थिए ।

बलात्कारपछि गिरीले ढुङ्गाले हानेर उनको हत्या गरेका थिए । हत्या गरेपछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुङ्गाले छोपिदिएका थिए । त्यसपछि उनले बालिकाले स्कुल जाँदा लगाएको पोसाक घरनजिक ल्याएर जलाएका थिए ।

शङ्का लागेर प्रहरीले सोधपुछ गर्दा उनले केही दिनअघि मृत्यु भएकी आफ्नी पत्नीको कपडा जलाएको बताएका थिए । तर जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा गिरीले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले बलात्कारको पोल खुल्ने बालिकाको हत्या गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस