स्कुल गएकी करुणाको घर फर्किदै गर्दा बलात्कारपछि हत्या गर्ने यिनै हुन् ६३ बर्षिय दिपक ! जस्ले बलात्कार पछि शव संग जे गरे

राजु अधिकारी, विराटनगर, फागुन १३ – मोरङ लेटाङ-८ को ज्यामिरे टोलबाट जाँते माध्यमिक विद्यालय पुग्न दुई घण्टा लामो पैदल दक्षिण झर्नुपर्छ।

कक्षा-६ मा पढ्ने करुणा राई पनि निर्जन जंगलको बाटो छिचोलेर नियमित स्कुल पुग्थिन्। बँदेल र चितुवाजस्ता जनावरको औधि डर हुने बाटोमा करुणा अहिलेसम्म जंगली जनावरको आक्रमणबाट जोगिँदै आएकी थिइन्। तर, गत बुधबार साँझ उनी जंगली स्वभावको मान्छेको आक्रमणमा परिन्, जसले बलात्कारपछि उनको ज्यान नै लियो।

लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षे दीपक गिरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले बलात्कारपछि मुख थुनेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बुधबार स्कुलबाट फर्कने क्रममा गिरीको हिंस्रक आक्रमणमा परेर बाटैबाट बेपत्ता बनेकी करुणाको शव शुक्रबार बिहान फेला परेको थियो। स्कुलबाट साँझ अबेरसम्म पनि घर आइनपुगेपछि उनका अभिभावकले हेडसरलाई फोन गरेका थिए।

करुणा स्कुलबाट नफर्केको अभिभावकको फोनपछि जाँते स्कुलका प्रधानाध्यापक उत्तमराज खतिवडाले स्कुलका कार्यालय सहयोगीलाई झट्टै गएर हाजिरी हेर्न अह्राए। कक्षा ६ को त्यसदिनको हाजिरीमा उनी उपस्थित थिइन्। त्यसपछि उनले अन्य शिक्षकलाई फोन गरे। अरूबाट थाहा भयो, उनी विद्यालय अवधिभरि स्कुलमै थिइन्। त्यसपछि घरमा पनि स्कुलबाट घरतिर हिँडेको बताइदिए।

‘हामीले त्यस्तो जानकारी दिएपछि परिवार आत्तियो, खोजी सुरू भएछ,’ प्रधानाध्यापक खतिवडाले भने, ‘भोलिपल्ट बिहान हामी सबै लाग्यौं खोज्न कतै केही पत्तो लागेन।’ त्यहीक्रममा थाहा भयो, करुणासँगै पढ्ने एक जना विद्यार्थी स्कुल नजिकैको आफ्नो बजारको घरमा बस्ने हुँदा उनले यतै बस्न आग्रह गरेका रहेछन्। तर, उनले मानिन छिन्। खतिवडाका अनुसार घर फर्कने क्रममा एक्लै परेको मौका छोपेर अपराधीले आक्रमण गरेको हुनसक्छ।

‘अरू साथीहरू अगाडि गएछन् कि के हो। ती नानीहरू स्कुल आउने बाटो जंगली जनावरको डर हुने बाटो हो, हामीलाई समेत एक्लै हिँड्ने आँट आउँदैन,’ खतिवडाले सेतोपाटीसँग भने, ‘नानीहरू अहिलेसम्म जंगली जनावरको आक्रमणबाट जोगिँदै आएका थिए। के गर्नु मान्छेले जंगली रूप लिएर मारेछ।’

प्रधानाध्यापक खतिवडाले फोनमा यति सुनाउँदा उनको गला अवरूद्ध थियो। उनका अनुसार उनी हराएको हल्ला चलेपछि बिहीबारदेखि नै विद्यालयको माहोल त्रस्त थियो। ‘हामीले हिजो मात्रै डेढ सयभन्दा बढी विद्यार्थी लिएर जंगलमा खोजेका थियौं,’ करुणालाई गणित पढाउने शिक्षक खगेन्द्र पौडेलले भने, ‘तर, आज बिहान मात्रै शव भेटियो।’

शव फेला परेपछि विद्यालयमा थप आतंक छाएको उनले बताए। लेटाङको ज्यामिरे टोलमा प्रावि तहसम्मको मात्रै पढाइ हुन्छ। कक्षा पाँच सिध्याएपछि विद्यार्थीका लागि कक्षा ६ पढ्न जाने सबैभन्दा नजिकको गन्तव्य जाँते मावि मात्रै हो। ‘दुई घण्टा लामो पैदल हिँडेर आउनुपरे पनि करुणा स्कुलमा नियमित थिइन्,’ गएको वैशाखमा स्कुलमा भर्ना भएकी विद्यार्थीबारे पौडेलले भने, ‘गणित विषयमा राम्रो विद्यार्थी थिइन्। मेहनत गरेर पढ्ने, नबुझेको कुरा धक नमानी सोध्ने गर्थिन्।’

शिक्षक पौडेलका अनुसार करुणाका दुई दिदीले जाँते स्कुलबाटै एसइई दिइसकेका छन्। भाइ गाउँकै स्कुलमा पढ्छन्। आमाबुबा खेतीपाती र कृषि मजदूरी गरेर तीन छोरी र एक छोरासहितको परिवारको गुजारा चलाउँछन्। बुधबार करुणालाई बाटोमा एक्लै देखेको बताउने लेटाङ–८ कै दिपक गिरीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। त्यस क्रममा उनले करुणाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस