भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा, हेर्नुहोस बिस्तृतमा

काठमाडौँ ।सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला भोलि नेपाल बन्दको आव्हान गरिएको छ ।

एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले भोलि नेपाल बन्द आव्हान गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले संचारकेन्द्रलाई बताए । यसबारे आधिकारिक जानकारी दिन केहि बेरमा विज्ञप्ति आउन लागेको उनले बताए ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका हुन् ।

यी ५ पार्टी र मोर्चाले एमसीसी संसदमा लैजानुभन्दा पहिलेदेखि नै बिरोध गर्दै आएका छन् । संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि आज दिउसोदेखि छलफल चलिरहेको छ । देउवा सरकारले आजै एमसीसी पास गर्ने तयारी समेत गरेको छ ।

एमसिसी पारित गर्न दलहरूले ११ बुँदे व्याख्यात्मक टिप्पणीसहितको मस्यौदा तयार पारेका छन्। उक्त मस्यौदाका प्रतिलिपी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका सांसदहरूलाई वितरणसमेत गरिएको छ।

नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, यो सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नरहेको लगायत बुँदाहरू समेटिएका छन्।

आजै बस्ने मन्त्रिपरिषद्ले यो व्याख्यात्मक सम्झौतालाई संसदमा पेश गर्ने निर्णय गर्नेछ। मन्त्रिपरिषदमा छलफल हुँदा अहिलेको मस्यौदामा केही तलमाथि हुन सक्ने सम्भावना छ। यस्तो छ व्याख्यात्मक घोषणा

१. कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा (alliance) बाँधिएको मानिने छैन भन्ने घोषणा गर्दछ ।

२. कम्प्याक्टको दफा २.७, दफा ५.२ (ख) (३), दफा ५.२ (ख) (४) को सम्बन्धमा, कम्प्याक्टको उक्त दफाहरूको उद्देश्य एमसीसी अनुदानको उपयोग सन्दर्भमा मात्र लागू हुन्छ भन्ने बुझाइ नेपालको रहेको छ र उक्त प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविश्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।

३. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सञ्‍चालन गर्ने क्रियाकलाप नेपालको कानूनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ ।

प्रतिक्रिया दिनुहोस