पल शाहलाई सम्झिँदै ‘म यस्तो गीत गाउँछु २’ का निर्देशकले लेखे भावुक स्टाटस

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले पक्राउ पर्नुअघि जारी गरेको भिडिओ सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस् ।’‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले आज स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

यस्तो छ थापाको स्टाटस

प्रिय पल,
तिमीले निकै नै मेहेनत गरेको चलचित्र आज देशभर का सिनेमाघरमा अत्याधिक सफलताको साथ प्रदर्शन भैरहेको छ । तिम्रो सिनेमाको टिम र दर्शकको बिचमा बसेर चलचित्र हेर्ने सपना पक्कै पुरा हुन्छ भन्ने हामिले आशा गरेका छौ

तिमीले चलचित्र बाट देखेको सपना तिमीलाई माया गर्ने दर्शकहरुले चलचित्र हेरेर मन पराई दिएर पुरा गर्दिनु भएको छ॥ दिन प्रतिदिन दर्शकको साथ दोब्बर हुदै गएको छ साथै तिमीलाई सिनेमाघरमा दर्शकहरुले धेरैनै खोज्दै छन् ।हाम्रो टिमको र दर्शकको पनि तिमीसंग बसेर सिनेमा हेर्ने सपना छ॥ छिट्टै सबैको सपना पुरा हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

प्रतिक्रिया दिनुहोस