एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो, म निकै खुसी छु – प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया धरापमा पुग्ने अवस्थामा देखिएकाले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौतालाई अनुमोदन गरिएको बताएका छन् ।

सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सो कुरा गरेका हुन् । उनले राजनीतिक उपलब्धि खतरामा पर्नुका साथै शान्ति प्रक्रिया धरापमा पुग्ने अवस्थामा देखिएकाले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरिएको बताए ।

“संसद्बाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन भएपछि देश दुर्घटनाबाट बचेको छ, संविधान बचेको छ”, उनले भने – “गठबन्धन बच्ने त खासै ठूलो कुरा रहेन, मुलुक प्रतिगामीको हातमा जानबाट बचेको छ, यसले कानूनी र वैधानिक बाटो प्राप्त गरेको छ, एमसिसी अनुमोदन भएपछि म निकै खुसी छु ।”

एमसिसीलाई निष्कर्षमा पु¥याउन आफूले सुरुदेखि नै निरन्तर पहलकदमी लिइरहेको भन्दै उनले भने “एमसिसी अनुमोदन नहुँदा सरकार परिवर्तन मात्र नभई प्राप्त उपलब्धि नै उल्टने खतरा थियो, गठबन्धन तोड्दै नयाँ समीकरण बनाउने तयारी अगाडि बढेको थियो”, उनले थपे – “प्राप्त उपलब्धिलाई दुर्घटना हुन नदिन उपायको खोजी गर्नुप¥यो ।”

एमसिसीलाई राष्ट्रिय सहमतिका साथ निष्कर्षमा पु¥याउँछु भनेर आफूले पहल गर्दा दोहोरो भूमिका खेलेको आरोप लगाइएकामा आपत्ति प्रकट गर्दै प्रचण्डले एमसिसीकै कारण मुलुक, संविधान र लोकतन्त्र धरापमा पर्ने अवस्था देखिएपछि यसलाई व्याख्यात्मक घोषणासहित अगाडि बढाइएको बताए ।

व्याख्यात्मक घोषणालाई समेत केही राजनीतिक दलका जिम्मेवार नेताले हल्का रुपमा लिएको विषयप्रति लक्षित गर्दै उनले अन्तर्राष्ट्रिय कानुनी मान्यता प्राप्त गर्ने उद्देश्यले सम्झौता र घोषणा पत्र एकसाथ अनुमोदन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस