कोरियाबाट फर्केपछि १५ करोड लगानी गरेर खोलेको ग्लोबल मार्ट डुब्यो, ऋण तिर्न नसकेपछि ७ दिने लिलामी सुचना !

काठमाडौ,कोरियामा काम गरेर कमाएको पैसा नेपालमै लगानी गरेर ब्यवसाय संचालन गर्छु भन्दै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित रहेको ग्लोबल मार्ट स्थापना गरेका हरि प्रसाद सिटौला नराम्ररी डुबेका छन् । उनले १५ करोड लगानीमा मार्ट स्थापना गरेका थिए । त्यसका लागि उनले नेपाल बंगलादेश बैकबाट ऋण समेत लिएका थिए ।

ब्यवसाय स्थापना गरेको केही समयमै आएको कोभिड महामारीले उनको ब्यवसाय डुब्यो । बैंकमा तिर्नुपर्ने साँवा ब्याज तिर्न सकेनन् । उनले कोरियामा कमाएको आम्दानीको पनि कुनै फाइदा भएन । बैंकको ऋण र ब्याज तिर्न नसकेपछि सम्पत्ति लिलामीका लागि बैंकले दैनिक पत्रिकामा सुचना प्रकाशन गरेको छ ।

उनका तीन पुस्ते विवरण र पति पत्नीको तस्बिर सहित बैंकले लिलामीको सूचना प्रकाशित गरेको हो । सिटौला कम्प्लेक्स निर्माण गरि उनले त्यसमा ग्लोबल मार्ट, रेष्टुरेन्ट, सिटौला ट्रेड प्रा।ली, गौरव एण्ड सौरभ ट्रेड प्रा।ली र सनसिटी ट्रेड प्रा।ली सञ्चालन गर्दै आएका थिए ।

पेप्सी टाउप्लानिङको सनसिटी नजिकै खुलेको उक्त ग्लोबल मार्ट २०७४ साल भदौ २४ गते उद्घाटन भएको थियो । निकै भब्यताका साथ राष्ट्रिय कलाकार र गायक सहित मन्त्री पुगेर मार्ट उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा तत्कालिन वाणिज्य मन्त्री मिन विश्वकर्मा कलाकार मनोज गजुरेल, कोमल वली, अभिनेता निखिल उप्रेति लगायतले शुभकामना दिएका थिए । त्यस्तै उद्योग वाणिज्य महासंघका तत्कालिन उपाध्यक्ष चन्द्र ढकाल, सांसद दिपक कुँइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी लगायतले समेत शुभेक्क्षा ब्यक्त गरेका थिए ।

तर सबैको शुभकामना र शुभेक्क्षाका बीच पनि उनले ब्यवसाय राम्रो चलाउन सकेनन् । दुई वर्ष भन्दा लामो महामारीको प्रकोपले उनको ब्यवसाय डुबायो । उनले पैसा तिर्न नसकेपछि बैंकले गत साउन देखि नै बारम्बार ताकेता गर्दै आएको थियो । मार्टका सञ्चालक हरि प्रसाद सिटौला ९ वर्षसम्म कोरियामा रोजगारी गरेर नेपाल फर्किएका थिए ।

साउन देखि बारम्बार पत्रिकामा सूचना प्रकाशित गरेर सावाँ ब्याज चुक्ता गर्न आग्रह गरेको भएपनि सिटौलाले तिरेनन् । कम्पनिको सञ्चालक सिटौला र उनकी पत्नि मुना उप्रेती सिटौलाको तस्विर समेत बैंकले प्रकाशन गरेको छ ।

बैंकले धितोमा रहेको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित कित्ता नम्बर ३८३ को २१५ वर्ग मिटर, कित्ता नम्बर ३५२ को १ सय ९ वर्ग मिटर र र ३५४ को क्षेत्रफल १ सय ३८ वर्ग मिटरको जग्गा तथा घर लिलामीमा रोखेको छ ।

प्रतिक्रिया दिनुहोस