एमसीसीको पक्ष बोल्नेहरुमाथि ढुंगामुढा हुने र गाउँ नै जाननसक्ने अवस्था आयो

काठमाडौं फागुन १८पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् ।आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एकमतले एमसीसी पारित गर्नका लागि आवश्यक कदम चाल्न सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे । उनले भने, ‘सबै हिसाबले हामीले एमसीसीमार्फत् जो अनुदान सम्झौता छ, अनुदान सहयोग छ । यसलाई लिएर जानु नै उपयुक्त हुन्छ । यसतर्फ हामीले ध्यान दिऊँ । प्रमुख प्रतिपक्षसँग पनि मेरो आग्रह छ, गठबन्धनका साथीहरुसँग पनि आग्रह छ, हामीले एकमतले यसलाई पारित गरेर हामी अगाडी बढौँ । यो नै नेपालको हितमा छ । यस निम्ति आवश्यक कदम चलाऔँ ।’

भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भए पनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताउँदै एमसीसीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्पणीमार्फत् पारित गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे ।

एमसीसीको पक्षमा बोल्दा राष्ट्रघातीको आरोप लाग्ने, ढुंगामुढा हुने र आफ्नै निर्वाचन क्षेत्रमा जान नसक्ने अवस्था सिर्जना भएको उनले बताए । भट्टराईले तल्लो तहसम्म एमसीसी विषाक्त बनिसकेको बताए ।

उनले व्याख्यात्मक टिप्पणीलाई नेताहरुले आफ्नो लाज छोप्न बनाएको पातलो लगौटी भएको टिप्पणी गरे । भट्टराईले भने, ‘मलाई खुशी लागेको छ कतिपय हाम्रा मित्रहरुले भर्खरै एउटा समझदारी गर्नुभएको छ भन्ने मैले सुनेको छु । व्याख्यात्मक टिप्पणीमार्फत् जो उहाँहरुले हिजो तल तलसम्म विषाक्त बनाउनुभयो, आफैलाई जनताको बिचमा जान नसक्ने बनाउनु भो मित्रहरुले । फेरि अलि पातलो लगौटी लगाएर आफ्नो लाज छोप्ने र जनतामा जाने बाटो खोज्दै हुनुहुन्छ भन्ने सुन्दा खुशी नै छु ।’

उनले थपे, ‘बेर आयो दुरुस्त आयो भनेजस्तै बेलैमा हामीले यो बुझ्नुपथ्र्यो । जनताको बिचमा यसरी अतिरञ्जीत कुराहरु गरेर जनतालाई भ्रममा पार्नु हुदैन्थ्यो । जो–जो साथीहरुले गर्नुभो, जुन–जुन दल र नेताहरुले गर्नुभयो । उहाँहरुले आज बुझेर वा नबुझेर त्यसलाई सच्याउने जुन प्रयत्न गर्नु हुँदैछ । त्यसको म स्वागत गर्न चाहान्छु ।’

भट्टराईले २०६६ सालपछिका सबै प्रधानमन्त्रीहरुको कार्यकालमा यो सम्झौता अगाडी बढेको उल्लेख गरे । उनले हिजो सम्झौता अगाडी बढाउने र आज चर्को स्वरमा विरोधमा उत्रिनेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भए सबै नेताहरुले प्रायश्चित गर्न सक्नुपर्ने भट्टराईको तर्क छ ।

उनले भने, ‘सुशील कोइराला बाहेकका हामी २०६६ सालदेखि यताका ८ जना प्रधानमन्त्रीहरु, हाम्रो पालामा यो सम्झौता अगाडी बढेको छ । जो साथीहरु, जो पूर्वप्रधानमन्त्रीहरु उफ्रिइराख्नु भएको छ, सुरुवात त उहाँहरुको पालामा अगाडी बढेको हो ।

मेरो पालामा २०६८ सालमा यो सम्झौतालाई नेपालको निम्ति योग्य भएको भन्ने जानकारी मलाई प्राप्त भएको हो । त्यसपछिका सबै प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्षहरुका पालामा यो अगाडी बढको छ । हामी त्यतिबेला के कानमा तेल हालेर सुतेर बसेका थियौँ ? गल्ती थियो भने हामीले हिम्मत गर्नुपर्छ । राजनीतिबाट सन्यास लिऔँ हामीले । त्यो इमान्दारीता हुन्छ ।’

भट्टराईले थपे, ‘हिजो हामीले अगाडी बढाउने, अनि आज आएर चर्को स्वरले बिरोध गर्ने । यो मिल्दैन । गल्ती हुनसक्छ मान्छेबाट । गल्ती भो भने गल्ती भो भनम् । र त्यसको निम्ति प्रायश्चित गरौँ ।

यदी राष्ट्रघात हो भने यति ठूलो काम हामीले आँखा चिम्लेर गर्न मिल्छ ? कर्मचारीले गरे होलान् भन्न मिल्छ ? मिल्दैन । हामीले नैतिक दायित्व लिनुपर्छ । त्यस अर्थमा म नैतिक दायित्व लिन्छु । मेरो पालामा यो एउटा सहयोग सम्झौताको रुपमा अनुदानको रुपमा यो आएको थियो । नेपाल जस्तो देशलाई बिकास गर्नको निम्ति हामीलाई पूर्वाधारमा लगानी गर्ने रकम हामीलाई चाहिन्थ्यो, त्यसो भएको हुनाले यो ठिक छ । चाहिन्छ मैले भनेकै हो । तर त्यो त्यतिबेला सम्झौता भएको थिएन ।’

प्रतिक्रिया दिनुहोस