राष्ट्रसंघको विशेष महासभा : युक्रेनको पक्षमा नेपालकाे मतदान, चीन-भारत तठस्थ

काठमाडौं, संयुक्त राष्ट्र संघको विशेष महासभामा नेपालले युक्रेनमाथि रुसको कारवाही रोक्ने पक्षमा मतदान गरेको छ ।संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाए विशेष महासभाको बैठकमा नेपालले युक्रेनको पक्षमा मत हालेको हो ।

राष्ट्र संघको ११औँ विशेष महासभा गएराति बोलाइएको थियो । महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको छ । उक्त मतसहित रुसको कारवाही रोक्ने प्रस्ताव पारित भएको छ।

कारवाही रोक्ने प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका हुन्। महासभामा नेपालले भन्यो, ‘जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा छ ।’

महासभामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल वुद्धभूमि भएकाले शान्ति प्रेमी देश भएको भन्दै रुसले कारवाही रोक्नु पर्ने बताए ।त्यस्तै युक्रेनको पक्षमा खुलेका मुलुकहरुले मान्यता प्राप्त सीमाभित्र युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिना शर्ता हटाउन माग गरेका छन् ।

प्रस्तावको विपक्ष अर्थात रुसको पक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन्।त्यस्तैगरी चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिका लगायत ३५ देश तटस्थ बसेका छन् । संयुक्त राष्ट् संघमा युक्रेनमाथि भइरहेको रुसको कारवाहीप्रति चिन्ता व्यक्त गरिएको थियो ।

संघका पदाधिकारीहरुले कारवाही तत्काल रोक्न १४१ मुलुकहरुले गरेको प्रस्तावले रुसको कारवाही रोक्न सहयोग गर्ने आशा व्यकत गरे ।‘यो नतिजाले युक्रेनमा दुस्मनीको अन्त्य होस्, बन्दुक बन्द होस् र संवादका लागि कुटनीतिक दरबाजा खुला होस् भन्ने सन्देश दिएको छ,’ महासचिव एन्टिनियो गुटरेशले भने ।

हालसम्म राष्ट्रसंघको विशेष महासभा ११ पटक मात्रै बसेको छ । जसलाई शान्तिका लागि एकताका रुपमा लिने बैठकका रुपमा लिने गरिएको छ ।जतिपनि मुलुकहरुले शानतिको पक्षमा मत हाले पनि सुरक्षा परिषदका ५ स्थायी सदस्यको एक मत नभई कारबाही नरोकिने राष्ट्र संघको नियममा उल्लेख छ ।

सुरक्षा परिषदका स्थायी सदस्य अमेरिका, बेलायत, रुस, फ्रान्स र चीनलाई भिटो प्रयोगको अधिकार छ। शान्तिका लागि प्रस्ताव बहुमतले पारित भपनि यी मुलुकहरुलाई भिटोको अधिकार छ। हालको अवस्थामा यी पाँच मुलुकको एक मत नभएसम्म रुसले युक्रेनबिरुद्ध कारवाही निरन्तर राख्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस