गोङ्गबुको बिजीमल अगाडिबाट अचम्मको गिरोह पक्राउ

रातको समयमा मोबाइल पसल फुटाई चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोरीको आरोपमा दुई जनालाई गोङ्गबुको बिजीमल अगाडिबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी नगरपालिका-५ घर भई बुढानीलकण्ठ बस्दै आएका २४ वर्षीय सुरेश गिरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-५ घर भई बुढानिलकण्ठ नै बस्दै आएका २२ वर्षीय गणेश क्षेत्री छन् । उनीहरुले गत माघ १८ गते राति काठमाडौं विशालनगरस्थित सुरज इलोक्ट्रोनिक्स मोबाइल पसलबाट मोबाइल चोरी गरेका थिए।

पसलको पछाडिको झ्याल फुटाई विभिन्न कम्पनीका नयाँ ३७ थान मोबाइल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ। त्यसैगरी मर्मतका लागी राखिएका मोबाइल१५ थान, गितार १ थान तथा स्मार्ट घडी २५ थान गरी अन्दाजी १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सामान चोरी गरेको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

चोरी भएका मध्ये उनीहरुबाट सिलप्याक ८ थान मोबाइल, पुराना मोबाइल ५ थान, स्मार्ट घडी ६ थान, गितार १ थान र पावर बैंक १ थान बरामद भएको छ। उक्त सामानसहित उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

यस्तै, काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गए राति एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

काभ्रेको भुम्लु गाउँपालिका-२ का सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो। गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको थियो। एमसिसी पारित भएको विरोधमा छ दल र दुई मोर्चाले सोमबार बन्द आह्वान गरेका थिए।

सोही दिन संसद भवन अगाडि सडकमा तारले जेलिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान गर्दा सिसीक्यामेरा फुटेजमा मोटरसाइकलमा सवार दुई युवकले प्रेसरकुकर छाडेर गएको देखिएको थियो।

प्रेसरकुकर सडकमा छाड्ने महतलाई पक्राउ गरिएको र अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनअन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ।संसद भवनअगाडि प्रेसरकुकर भेटिएपछि बम भएको आशंका गर्दै नेपाली सेनाले निस्कृय बनाएको थियो। उक्त प्रेसरकुकर बम नभई त्रास सिर्जना गर्न तारले जेलेर राखेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस