पुटिनले माइनस १४ डिग्री तापक्रममा जमेको पानीमा किन मारे डुबुल्की ?

बीबीसी, उमेरले ६९ वर्ष पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की लगाएको तस्बिर केहिसमय अघि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जमेको पानीमा पुटिनले डुबुल्की लगाएको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिए पछि एकै छिनमा भाइरल भएको थियो । पुटिन पुलसम्म ओभरकोट लगाएर आएको तस्बिरमा देखिन्छ तर डुबुल्की लगाउने बेला उनले उक्त कोट खोल्छन् ।

रुसको स्थानीय टिभी च्यानलमा यसबारे भिडियो पनि देखाइएको छ । पुटिनले यो जमेको पूलमा तीनपटक डुबुल्की लगाएका छन् । यो पूलको चारैतिर बरफ जमेको छ ।

वास्तवमा पुटिनले यसो गरेर एक धर्मनिष्ठ इिसाइको अनुष्ठानको पालना गरिरहेका थिए । यो दिनलाई फिस्ट डे वा इपिफनी भनिन्छ । हरेक वर्ष एपिफनीको दिन धर्मनिष्ठ इसाइ नदी वा पोखरीमा डुबुल्की मारेर यसुलाई याद गर्छन् ।

यो डुबुल्कीलाई निकै पवित्र मानिन्छ । पुटिन कम्युनिष्ट शासनमा हुर्किएका हुन् तर राष्ट्रपतिको रुपमा उनी एक धर्मनिष्ठ ईसाइको रुपमा रहेका छन् ।इपिफनीको मौकामा मानिसहरु पारम्परिक रुपमा नजिकैको नदी वा तलाउमा गएर बरफ जमेको पानीमा डुबुल्की मार्छन् । इपिफनीको मध्य रातमा सबै पानी पवित्र हुने जसका कारण यावत् पाप पाखालिने मान्यता राखिन्छ ।

रुसी मिडियामा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लामो समयसम्म एक ‘दबंग’ नेताको रुपमा देखाउँदै आएको छ जसले रुसलाई पश्चिमी दुनियाँबाट बचाउँछन् । तर अब रुसी मिडियामा उनको छवि एक ‘मसीहा’ को रुपमा देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस