नेपालमा पहिलो पटक शल्यक्रिया बिना फेरियो मुटुको भल्भ

काठमाडौँ- बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको छ । शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया बृद्ध महिलाको सफलता पूर्वक मुटुको भल्भ फेरिदिएको बताए । उनले गत १६ फागुनमा ती महिलाको टीएभीआई विधिबाट भल्भ फेरिदिएको सुनाए । भल्भ फेरिएकी वृद्ध महिला आजै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

‘हाम्रो टोलीले नेपालमै पहिलो पटक टीएभीआई विधि (जो शल्यक्रिया बिना नै भल्भ फेर्ने विधि भनेर परिचित पनि छ) बाट एक जना ८० बर्षीया महिलाको मुटुको भल्भ प्रत्यारोपण गरिदियौँ । आज उहाँ निको भएर अस्पतालबाट डिस्चार्ज समेत भईसक्नु भएको छ,’ उनले भने ।
शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

प्रतिक्रिया दिनुहोस