भारतविरुद्ध खेल्न काखमा ७ महिनाकी छोरी लिएर मैदान पुगिन् पाकिस्तानी कप्तान

काठमाडौं, महिला एकदिवसीय विश्वकपमा अहिले भारत र पाकिस्तानबीच खेल हुँदैछ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई सधैं हाइभोल्टेज खेल मानिन्छ । यो खेल सुरु हुनुभन्दा ठिक अगाडि खेल्नलाई मैदान पुगेकी पाकिस्तानी कप्तान बिस्माह मारुफको एउटा तस्वीर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले उनको यो तस्वीर ट्वीट गरेको थियो ।

आजको खेल सुरु हुनुभन्दा अगाडि मैदान पुगेकी कप्तान बिस्माहले काखमा आफ्नी ७ महिनाकी छोरी लिएर पुगेकी थिइन् । यो फोटो देखेपछि सामाजिक संजालमा बिस्माको निकै प्रशंशा भइरहेको छ । बिस्माहको विवाह २८ नोभेम्बर २०१८ मा अबरार अहमदसँग भएको थियो । अबरार पेसाले सफ्टवेयर इन्जिनियर हुन् । बिस्माहको सपना पनि क्रिकेटर बन्नु थिएन । उनी डाक्टर बन्न चाहन्थिन् तर परिवारको दबाबमा उनी क्रिकेटर बनिन् ।

बिस्माहले अहिलेसम्म पाकिस्तानको राष्ट्रिय टिमको लागि १०८ एकदिवसीय र १०८ नै टि–२० खेल खेलेकी छिन् । उनले एकदिवसीयमा २ हजार ६०२ र टि–२० मा २ हजार २२५ रन बनाएकी छिन् । उनले कुनै फरम्याटमा शतक भने बनाउन सकेकी छैनन् । उनको एकदिवसीयमा उच्च स्कोर ९९ रन हो । ३० वर्षकी बिस्माह स्पिन अलराउण्डर हुन् । उनले गएको अगष्ट ३० मा छोरी जन्माएकी थिइन् । त्यसपछि केही समय उनी मैदानबाट बाहिर रहिन् ।

प्रतिक्रिया दिनुहोस