पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

नाबालिग गायिकामाथि जबरजस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।

यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।

तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो । अहिले शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस