भाषणमा मुलुक बदल्ने कुरा निकै गर्छौं तर व्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन: धनराज गुरुङ

काठमाडौं, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताउनुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको उद्घाटन कार्यक्रममा उहाँले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने बताउनुभयो।

“भाषणमा मुलुक बदल्ने कुरा निकै गर्छौं तर व्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन”, उहाँले भन्नुभयो, “मुलुक बदल्नका लागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमीकमजोरी तथा सोचलाई परिवर्तन गर्न आवश्यक छ, अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ ।”

धेरै नेताभन्दा पनि एक÷दुई जना असल नेता भए मात्रै पनि समाज रूपान्तरण गर्न सकिने उहाँको भनाइ थियो । “खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मुहार परिवर्तन गर्छ र माथि उठाउँछ”, उहाँले भन्नुभयो, “असल नेता भएकै कारण विश्वका केही देशहरुले निकै फड्कोसमेत मारेका छन् विकासशील देशका रूपमा अगाडि उदाएका छन् ।”

अब नजिकै स्थानीय तहको निर्वाचन पनि आइरहेकाले नागरिकहरु समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोच्नुपर्ने बेला भएको उहाँले बताउनुभयो । निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताइरहनुपर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

“एमसिसी राष्ट्रघाती हुन् भनी गरिएका प्रचारहरु भ्रम मात्रै हुन्”, उहाँले भन्नुभयो, “हामी पनि नेपाल आमा र नेपाली जनताका लागि राजनीति गरेका हौँ, जुन भ्रम फिँजाइएको छ त्यो होइन।”कोइबो निर्माणले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालन गर्न पनि उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस