रामकुमारी झाँक्री लगाएतका मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब

काठमाडौं,सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुको कार्यसम्पादनलाई लिएर नेकपा (एकीकृत समाजवादी) मा आलोचना सुरु भएको छ । सुरुदेखि नै केही मन्त्रीहरुले राम्रो काम नगरेको भनेर जनस्तरबाट आलोचना भैरहेको बेलामा यो विषय पार्टीभित्र पनि प्रवेश भएको छ । आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले सरकारमा सहभागी मन्त्रीहरुको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

उनीहरुले अध्यक्ष माधवकुमार नेपालमाथि काम गर्न नसक्ने मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउन दबाब दिएका छन् । धेरै नै आशा गरिएका नेताहरुलाई सरकारमा महत्वपूर्ण जिम्मेवारी दिँदापनि सन्तोषजनक काम गर्न नसकेको भन्दै उनीहरुको आलोचना भएको छ । पार्टीभित्रैबाट फिर्ता बोलाउनुपर्ने मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् । यी तीन जना मन्त्रीहरुले सुरुदेखि नै फितलो प्रदर्शन गरेको आरोप लाग्ने गरेको छ ।

कोभिडको तेस्रो लहर ओमिक्रोनको बेलामा पनि स्वास्थ्यमन्त्री खतिवडाले राम्रो काम गर्न नसकेको भन्दै उनको जनस्तरबाट आलोचना भएको थियो । उनीमाथि खोप हराएको र हराएको खोपबारेमा कुनै ठोस जवाफ नदिएको पनि आरोप लागेको छ । उता, शहरी विकासमन्त्री झाँक्रीले विवादमा आउनेगरि अभिव्यक्ति दिएको तर देखिनेगरि कुनै काम गर्न नसकेको आरोप छ।

कतिसम्म भने उनले पिर्के सलामी खाँदा आलोचना भएको थियो । उनले त्यसको पनि बचाउ गरेकी थिईन् । पछिल्लो समय मन्त्री पद जोगाउनकै लागि पार्टीको निर्णय र नीतिविपरित एमसीसीको पक्षमा आफूलाई उभ्याएकी थिईन् । त्यस्तै, श्रममन्त्री श्रेष्ठले पनि देखावटी राजनीति गरेको र जनताको हित हुनेगरि कुनै काम गर्न नसकेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस