ललितपुर घटना : यस्तो रहेछ एकै परिवारका ५ जनाको मृत्युको कारण

ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा एकै परिवारका पाँच जनाको मृत्यु भएको घरभित्र आगोको कोइला फेला परेको छ।

यस्तै मृतकले वान्ता गरेको पनि पाइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। आगो बालेको र ननिभाई सुत्दा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

अहिले घटनास्थलमा फोरेन्सिक डाक्टरसहितको टोली पुगेको छ। सोमबार बिहान काइली स्याङ्तानको घरमा केही व्यक्ति मृत फेला परेको र केही घाइते रहेको भन्दै वडाध्यक्ष तीर्थ खनालले प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै इलाका प्रहरी कार्यालय कोन्जोमसन, चापागाउँ वृत्त र प्रहरी परिसर ललितपुरको टोली घटनास्थल पुगेको हो।

२ दिनको शिशुलाई सेक्ने क्रममा बालेको आगो ननिभाउँदा परिवार नै सखाप भएको प्रहरीको प्रारम्भिक अनुमान छ। २ दिनको शिशुको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

त्यसअघि घटनास्थलमा घरमुली ५५ वर्षीया काइली स्याङ्तानसहित बुहारी २२ वर्षीया शुष्मा स्याङ्तान, ९ वर्षका नाति आशिष स्याङ्तान, ५ वर्षीया नातिनी आशमा स्याङ्तानको मृत्यु भएको छ। २३ वर्षीय छोरा सुवासको पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस