नजरबन्दबाट मुक्त भएँ विश्वको सुन्दर देश नेपालमा घर बनाएर बाँकी जीवन बिताउन चाहन्छु: आङ सान सुकी

बर्मेली संसदको पहिलो बैठक आयोजना गरिएको थियो, बर्माको नयाँ राजधानी न्यापितमा। राष्ट्र प्रमुखसरहको स्टेट काउन्सिलरको हैसियतमा रहेकी सर्वोच्च लोकतन्त्रवादी नेतृ आङ सान सुकी राजधानी न्यापितको इन्यालेकस्थित निवासमा थिइन्। राष्ट्रपति विन मिन्ट पनि न्यापितमै थिए।तर १९ माघ बिहानै बर्मेली सेना प्रमुख मिङ ओङ लाइङले सैनिक शक्तिको बलमा ‘कु’ गरे।

नेतृ सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका शीर्ष नेताहरूलाई सेनाले पक्राउ गर्यो। गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको दलले धाँधली गरेर विजय हासिल गरेको आरोप लगाउँदै एक पटक पनि बैठक नबसी संसद विघटन गरिदियो, सेनाले। सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका नेताहरू अहिले पनि नजरबन्दमै छन्।१९ माघयता बर्मामा जे–जे भइरहेका छन्, धेरै नेपाली त्यहाँका राजनीतिक घटनाबारे जानकार छैनन्। तर, ठहिँटी (काठमाडौं) नजिकैको नःघलस्थित धर्मकीर्ति विहारकी प्रमुख (गुरुमा) भिक्षु धम्मावती (धर्मावती शाक्य) भने बर्मामा भइरहेका हरेक राजनीतिक घटनाक्रमबारे निरन्तर ‘अपडेट’ छिन्।

धम्मावतीको यो चासो स्वाभाविकै हो। किनभने किशोर वयमै भिक्षु जीवनमा प्रवेश गरेकी उनी ५०–५५ वर्षको अवधिमा दर्जनौंपटक बौद्धकर्मका लागि बर्मा पुगेकी छन्, त्यहाँका बौद्ध विहारहरूमा वर्षाैं बिताएकी छन्।तर ८७ वर्ष पुगिसक्दा पनि बर्मेली राजनीतिबारे उनमा यति धेरै चासो हुनाको कारण त्यति मात्र होइन। सुकी परिवारसँग झण्डै ५५ वर्ष लामो निकट सम्बन्ध नै धम्मावतीमा रहेको बर्मेली राजनीति र सुकीबारे चासोको मुख्य कारण हो।बीपी कोइराला प्रधानमन्त्री रहेका बेला २७ चैत २०१६ मा नेपाल र बर्माबीच दौत्य सम्बन्ध स्थापना गर्ने निर्णय भएको थियो।

पाँच महिनापछि २०१७ भदौ दोस्रो हप्ता नेपालका लागि बर्मेली राजदूत खिन यी काठमाडौं आइन्। राजदूत खिनले १४ भदौ (२०१७) मा नारायणहिटी राजदबारमा आयोजित कार्यक्रममा राजा महेन्द्रसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गरिन्। काठमाडौंमा बर्माको राजदूतावास स्थापना भइनसकेकाले नयाँदिल्लीबाटै नेपाल हेर्नेगरी खिनलाई बर्मेली सरकारले जिम्मेवारी दिएको थियो।

नेपालका लागि पहिलो बर्मेली राजदूतको जिम्मेवारी पाएकी खिन यी खासमा नोबेल पुरस्कार विजेता बर्माकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीकी आमा थिइन्। सानैदेखि दार्जिलिङमा बसेर शिक्षा हासिल गरेकी सुकी, आमा खिन यीका साथ त्यही बेला पहिलोपटक काठमाडौं आइन्।बौद्धमार्गी मुलुक बर्मा र गौतम बुद्धको जन्मभूमि नेपालका बौद्ध भिक्षुबीच उतिबेला पनि निकै ओहोरदोहोर चलिरहन्थ्यो। खिन यी जन्मजात क्रिश्चियन थिइन्।

तर सन् १९४२ मा बौद्धमार्गी पूर्वजनरल आङ सानसँग बिहे भएपछि खिनले पनि बौद्धधर्म अँगालिन्।सुकीका पिता जनरल आङ सान ब्रिटिस उपनिवेशवादविरुद्ध बर्मामा भएको संघर्षका प्रमुख नेता थिए। बर्माले स्वतन्त्रता पाउने भएपछि उनी स्वतन्त्रतापूर्व नै प्रधानमन्त्री बने। तर स्वतन्त्रता प्राप्त गर्ने मितिअगावै १९ जुलाई १९४७ मा उनको हत्या भयो। बर्मेली जनता जनरल आङ सानलाई ‘राष्ट्रपिता’ का रूपमा सम्मान गर्छन्।

खिन यी पेसाले नर्स थिइन्। स्वतन्त्रता संग्राममा उनको धेरथोर भूमिका थियो। सैनिक अभियानमा घाइते भएका योद्धाहरूको उपचारमा उनी संलग्न थिइन्। खासमा संघर्षका क्रममा घाइते जनरल आङ सानकै उपचारका सिलसिलामा उनीहरूबीच भेट भएको थियो र केही महिनापछि नै आफूभन्दा ३ वर्ष कम उमेरका आङ सानसँग उनले बिहे गरेकी थिइन्।

बर्माको स्वतन्त्रता संग्राममा यही भूमिकाका कारण पनि बर्माको तत्कालीन समाजवादी सरकारका प्रधानमन्त्री उ नूले खिन यीलाई भारत र नेपालको राजदूतमा नियुक्ति गरेका थिए। प्रधानमन्त्री उ नूको सम्बन्ध नेपालका प्रधानमन्त्री बीपी कोइरालासँग निकट थियो। २००७ मा भएको नेपालको क्रान्तिमा बीपीले बर्माबाट हतियार प्राप्त गरेको सुकीका पिताले गठन गरेको बर्मा समाजवादी पार्टीबाटै हो।ओहोदाको प्रमाणपत्र पेस गर्न काठमाडौं आएका बेला खिन यीले धम्मावतीसँग भेट गरिन्, साथमा दार्जिलिङमा स्कुल पढ्दै गरेकी आङ सान सुकी पनि थिइन्।धम्मावती भन्छिन्, ‘राजदूत बनेर खिन यी काठमाडौं आएका बेला भएको भेट नै सुकी र मबीचको पहिलो भेट हो।

भारत र नेपालको राजदूतको जिम्मेवारी लिएर खिन यी यता आएपछि काठमाडौंमा बराबर धम्मावतीसँग उनको भेट हुन थाल्यो। उता, दार्जिलिङमा स्कुले पढाइ सकेपछि सुकी थप अध्ययनका लागि नयाँदिल्ली गइन्। दार्जिलिङमै छँदा सुकीको परिचय बेलायती विद्यार्थी माइकल एरिससँग भएको थियो, जुन सन् १९७२ मा प्रेम र विवाहमा परिणत भयो।माइकल बौद्धधर्मका अध्येता थिए। पछि आफैं पनि बौद्धमार्गी बने। धम्मावतीका भनाइमा बौद्ध धर्मको महायानका ज्ञाता थिए, माइकल। आफ्नो अध्ययन क्षेत्र नेपाल, भुटान र तिब्बत भएकाले उनी सुकीलाई लिएर यता आइरहन्थे।

त्यसै सिलसिलामा माइकल–सुकी दम्पती सन् १९७३ मा लामो बसाइका लागि काठमाडौं आइपुग्यो। साथमा तीनमहिने जेठा छोरा अलेक्जेन्डर पनि थिए।अनुसन्धानका लागि आएकाले माइकल नेपालका विभिन्न जिल्लामा रहेका बौद्ध गुम्बा पुग्थे, त्यहाँका लामासँग भेटेर तथ्यांक संकलन गर्थे। कहिले मनाङ–मुस्ताङ पुग्थे, कहिले सिन्धुपाल्चोक–रसुवा। काठमाडौंमा रहँदा माइकलले ठमेलको कुनै होटलमा कोठा लिएका थिए। तीनमहिने छोरा अलेक्जेन्डरका साथ सुकी त्यहीँ रहन्थिन्।
‘विचरीको काठमाडौंमा जाने ठाउँ कतै थिएन, ठमेलबाट नजिकै पर्ने भएकाले छोरालाई लिएर यहाँ (धर्मकीर्ति विहार) आउँथिन्, खाना यहीँ खान्थिन्,’ धम्मावती सम्झन्छिन्, ‘बेलुकी पनि यहीँ खाना खाएर छोराका साथ कोठामा जान्थिन्। उनको आवतजावत हिँडेरै हुन्थ्यो।’

सुकी काठमाडौंमा रहँदाका धेरै घटना धम्मावतीका स्मरणमा अझै ताजै छन्।यो बेला काठमाडौंमा दूध पनि राम्रोसँग पाइँदैनथ्यो। अलेक्जेन्डर सुकीको दूध खाँदैनथ्यो, अरू कसैको दूध खुवाउन पनि हुँदैनथ्यो, दूध खान नपाएर होला, ऊ निकै रोइरहन्थ्यो,’ उनले सम्झिन्, ‘पछि काठमाडौंमा बर्माको दूतावास स्थापना भयो, त्यसपछि चाहिँ त्यहीँबाट दूध मागेर ल्याएर छोरालाई खुवाउने गरेकी थिइन्।काठमाडौंमा रहँदा छोराको स्याहारसुसारबाहेक सुकीको खासै काम थिएन। त्यसैले धर्मकीर्ति विहारमा उनले धम्मावतीसँग बौद्धधर्मबारे थप ज्ञान हासिल गरिन्। सम्भवतः बिरानो मुलुकमा रहनुपर्दा उनलाई तनाव हुँदो हो, मन अशान्त बन्दो हो। मनमा तनाव र अशान्ति हुँदा के गर्ने भन्ने सल्लाह उनी धम्मावतीसँग माग्थिन्। तनावबाट कसरी मुक्त हुने, अशान्तिबाट कसरी पार पाउने भन्ने सम्बन्धमा बुद्धले के भनेका छन्, धम्मावती त्यससम्बन्धी शिक्षा सुकीलाई दिन्थिन्। सँगसँगै ध्यान गर्न पनि सुझाउँथिन्, सिकाउँथिन्।

धम्मावतीसँग सुकीले बुद्ध धर्मबारे आफूले थप ज्ञान मात्र लिइनन्, भारतमा आफूले पाएको शिक्षा विहारमा आउने विद्यार्थीलाई बाँडिन् पनि। बौद्ध धर्म मान्ने बालबालिकाका लागि धर्मकीर्ति विहारले स्कुल सञ्चालन गरेको थियो, जसलाई ‘अध्ययन गोष्ठी’ भनिन्थ्यो। ‘अध्ययन गोष्ठी’ मा २४ विद्यार्थी अध्ययन गर्थे। स्कुले जीवन दार्जिलिङमा बिताएकाले सुकीको अंग्रेजी राम्रो थियो। ‘अध्ययन गोष्ठी’ मा अध्ययन गर्ने बालबालिकालाई अंग्रेजी सिकाउने जिम्मा धम्मावतीले सुकीलाई दिइन्।सुकीसँग अंग्रेजी पढ्नेमध्ये एक थिए, हाल स्वयम्भूमा बसोबास गर्ने चिनिकाजी महर्जन (५८ वर्ष)। ७ वर्षअघिको एक भेटमा महर्जनले भनेका थिए, ‘म अंग्रेजीमा निकै कमजोर थिएँ, तर एक महिनामा सुकीले यति राम्रोसँग पढाउनुभयो कि त्यसपछि म कहिल्यै अंग्रेजीमा फेल हुन परेन।

अलेक्जेन्डर जन्मेको ४ वर्षपछि १९७७ मा माइकल–सुकी दम्पतीका कान्छा छोरा किम जन्मे। त्यसपछि पनि माइकल र सुकी छोराहरूका साथ काठमाडौं आइरहे। काठमाडौं आउँदा माइकल–सुकी जहिल्यै ठमेलमा बस्थे। कारण उही थियो, धर्मकीर्ति विहार त्यहाँबाट नजिक हुनु। सन् १९९० को दसकअघि झण्डै आधा दर्जनपटक नेपाल आउँदा सुकीको दिउँसोका अधिकांश समय धर्मकीर्ति विहारमै बित्थे।माइकलको नेपाल घुमाइ र सुकीको काठमाडौं बसाइको प्रतिफल हो– सुकीले नेपालबारे लेखेको पुस्तक ‘लेट्स भिजिट नेपाल’। लन्डनस्थित बुर्क पब्लिसिङ कम्पनी लिमिटेडले सन् १९८५ मा प्रकाशन गरेको यो पुस्तकमा सुकीले नेपालको इतिहास, संस्कृति र जनजीवनबारे वर्णन गर्दै विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरेकी छन्। ९० पृष्ठको पुस्तक माइकलले नेपाल घुमाइका क्रममा खिचेका तस्बिरले भरिभराउ छ।

सुकीकी आमा खिन यी राजदूत भएको केही समयपछि नै बर्मेली सेनाले ‘कु’ गरी समाजवादी सरकारलाई अपदस्थ गरिदियो। सैनिक ‘कु’पछि बर्मामा राजनीतिक दलका गतिविधि प्रतिबन्धित भए। त्यसपछि सुकी बेलायती श्रीमान् माइकलसँग बेलायतमै बस्न थालिन्। सैनिक शासनका कारण खिन यी पनि राजनीतिमा सक्रिय रहने अवस्था रहेन। यिनै कारण सुकी बर्माको राजनीतिमा आउलिन्, बाबुको राजनीतिक बिँडो थाम्लिन् र यो उचाइ हासिल गर्लिन् भन्ने कसैले अनुमान गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस