स्थानीय तहमा एमालेको जित सुनिश्चित छ: अध्यक्ष ओली

मोरङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गर्नुभएको छ ।

एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आयोजित तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गर्नुभयो ।

उहाँले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गर्नुभयो ।

आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौँ रेलसेवा, सुरुङमार्ग, काठमाडौँमा सुक्खाबन्दरगाहजस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताउनुभयो ।

सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उहाँले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राख्नुभयो ।

सदरमुकाम जोड्ने बुटबल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस