विकास निर्माणका काममा ढिला हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी छ : मन्त्री झाँक्री

काठमाडौं,शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको छ ।काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको हो ।

विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनोट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जवाफदेहिता अनिवार्य शर्त भएको उहाँले बताउनुभयो।
नेपाल सरकारको तर्फबाट योजना छनोट, सञ्चालनका गतिविधि, स्रोतको सुनिश्चितता, निर्माण व्यवसायीहरूको प्रभावकारी एवं गुणस्तरीय काम र त्यसमाथिको नियमन अनिवार्य शर्त हुन्।

उहाँले भन्नुभयो, ‘तर हामीले अहिलेसम्म एक पक्षलाई मात्रै दोषारोपण गर्ने गरेका छौं, मुलतः निर्माण व्यवसायीको प्रभावकारीता, जवाफदेहिता र त्यसमा गुणस्तरहीन कामको कुरा चाहीँ सर्वत्र आलोचनाको विषय छ, नियमनको विषय सरकारी संयन्त्रकै जिम्मेवारी हो ।’

निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाँक्रीले कानूनमा भएका विभिन्न छिद्रहरूका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

मन्त्री झाक्रीले कुनै पनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रूपमा हेरेको बताउनुभयो । आयोजनाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायी प्रतिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस