मतियारको भूमिका खेलेको भन्दै पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ !

तनहुँ – जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँको दमौलीबाट आज शुक्रवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धानका लागि जाेशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

पल शाह ‘२ नम्बरी’ बाट हट्ने

जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । निर्माण युनिटले उनलाई हटाएर फिल्म पुरा गर्ने तयारी थालेको हो । निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्काे कलाकार लिएर काम गर्ने तयारी भएको बताए ।

‘पलभित्र भएपछि उनको ठाउँमा हामीले अर्काे कलाकार लिएर काम गर्नैपर्छ’ निर्देशक लामाले भने ‘अहिलेसम्म पललाई हटाइएको छैन । अर्काे कलाकार फाइनल भएपछि उनी हट्नेछन् ।’ निर्देशक लामाले उनको ठाउँमा अर्काे कलाकार फाइनल नभएसम्म हटाइयो भनेर भन्न नमिल्ने बताए । ‘हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह हट्नेछन्’ लामाले थपे ।

पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए । काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायाङ्कन लोकेसन र केही कलाकार पनि फेरिने बताइएको छ । फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको छ । उनको ठाउँमा पनि अर्काे कलाकार रहनेछन् ।

दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहने फिल्ममा निर्देशक लामाकै कथा रहेको छ । रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको फिल्मका प्रस्तुतकर्तामा किरण नेपाली हुन् । फिल्ममा निर्माताको रुपमा प्रदेश सांसद दीपक मनाङ्गे समेत भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस