बलात्कारपछि मारिएकी १८ महिने बालिकाको न्याय माग्दै माइतिघरमा प्रदर्शन (तस्विरहरू)

मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महिने नाबालिकाको न्यायको लागि काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ ।फेसबुकमा रहेको श्रीमती संगठन नामक ग्रुपले आयोजना गरेको प्रदर्शनमा विभन्न पेशा व्यवसायमा रहेका महिलाहरूको सहभागिता रहेको थियो ।

ह्यासट्याग #IamRapeSurvivor लेखेर गरिएको प्रर्दशनमा बलात्कार तिमीहरू गर्ने, लुकेर हामी बस्नुपर्ने ?, तिमीहरू खुलमखुल्ला हिड्ने हामी भित्रभित्रै पिल्सिने ?, गलत हामी हैन, तिमीहरू हो ।, बलात्कार विरुद्धको शिक्षा विद्यालयबाटै सुरू गरौँ, पीडकलाई बचाउनेहरूलाई कारबाही गर ।, बलात्कारको विरुद्धमा उभिने पार्टीलाई मात्र भोट दिन्छौं ।, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ। छोरी चेलीको रक्षा गर्न नारी शक्ति एक हौँ ।, कपाल काट्ने मेकअप गर्ने छोटो लुगा लगाउने हाम्रो गल्ति हैन, तिम्रो मानसिकता गलत हो । ‘ लगायतका नारा लेखिएका प्लेकार्ड राखिएको थियो ।

माइतिघरमा भएको शान्तीपूर्ण प्रदर्शनमा मनोविद गोपाल ढकालले बलात्कार किन बढिरहेको छ यसलाई रोकथाम गर्न के गर्न सकिन्छ भन्दै आफ्नो छोटो मन्तव्य राखेका थिए ।

स्वतस्फूर्तमा रुपमा प्रदर्शनमा सहभागी भएका महिलाहरूले बलात्कार पछि हत्या गरिएकाहरूको सम्झनामा दीप प्रज्वलन समेत गरेका थिए ।

उनीहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बलात्कार जघन्य अपराध हो, कोहिपनि यस्तो अपराधमा संलग्न हुनुहुँदैन भन्ने सन्देश आम मानिसहरूमा पुर्‍याउने सहभागी रसना ढकालले केटिएम दैनिकलाई बताइन् ।

मोरङको सुन्दरहरैँचा–७ गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो । शुक्रबार साँझ गाँजा सेवन गरेर दुई युवाले ती बालिकामाथि बलात्कार गरेका थिए । बलात्कारपछि उनीहरूले सिसाको बोत्तल र ढुङ्गा प्रहार गरी बालिकाको हत्याको प्रयास गरेका थिए ।

घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित शनिबार बिहान १ बजेतिर नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । हत्यामा संलग्न दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।

तस्विरहरू

प्रतिक्रिया दिनुहोस