गुल्मीको जोहाङ स्वास्थ्यचौकी आफैँ बिरामी, जीर्ण भवनबाट सेवा प्रवाह

२०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीकाे छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने ।

भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे । उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको बताए । जोहाङ स्वास्थ्यचौकीसँगै सत्यवतीका तीन स्वास्थ्यचौकीका भवन अलपत्र छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीमार्फत ०७६ सालमा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डी.एण्ड.डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ । तर, निर्माण व्यवसायीको काम सुस्ताएको कारण सत्यवती गाउँपालिका ४, ५ र ६ वडाका क्रमश लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्टक्चरबाहेकको काम भएको छैन।

पछिल्लो एक वर्ष काम नै नभएपछि स्थानीयले निर्माण व्यवसायी र कार्यालयको आलोचना गर्न थालेको सत्यवती गाउँपालिका ६ जोहाङका युवा सुभाष न्यौपानेले बताए । एउटै निर्माण व्यावसायीलाई तीनवटा ठेक्का पाएका छन् । ठेक्का लिने, तर काम नगर्ने प्रवृत्तिले नागरिक र कार्यालय पनि आजीत हुने गरेका छन् ।

संघीय आयोजना कार्यान्वय इकाई रुपन्देहीका इन्जिनियर टीका थापाले भने निर्माण व्यवसायीले समयमै काम नगरेकाले समस्या आएको बताए । उनले तीनवटै स्वास्थ्यचौकीको काम डी.एण्ड.डी कन्स्ट्रक्सनले गरिरहेको र सबैको काममा ढुलासुस्ती भएको विषयमा कार्यालय गम्भीर भएर निर्माण व्यवसायीलाई अन्तिम ताकेता गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस