४० वर्ष नाघ्दासम्म विहे नभएका विदुर पुरुषलाई सरकारले दिने भयो भत्ता

काठमाडौं ।ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ ।

समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।

स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् । समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता प्रदान गर्न थालेको पालिकाहरूले जनाएका छन् ।

पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो । छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताले एकल महिला र ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकलाई सम्बोधन गरे पनि कतिपय एकल पुरुष तथा विदुर पुरुषहरूको जीवनसमेत कष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो ।

उहाँले भन्नुभयो, “कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ । तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।” महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या ४० को हाराहारीमा छ ।

त्यसै गरी गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपाङ्गता ‘क’ र आंशिक अपाङ्गता ‘ख’ वर्गले सङ्घीय सरकारबाटै भत्ता पाउँदै आएका छन् । ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई मासिक छ सय रुपियाँका दरले भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस