सामुहिक विवाहमा एक बेहुलीको बेहुला साटिएपछि …

एजेन्सी । धेरै स्थानमा आजभोली दाइजो रहित सामुहिक विवाह गर्ने प्रचलन छ । नेपालमा पनि त्यस्तो प्रचलन बढ्दै गएको छ । भारतमा भने वर्षेनी सर्यौ जोडीको सामुहिक विवाह हुन्छ । यस्तै सामुहिक विवाहका क्रममा एक बेहुलीको भने बेहुला साटिएका छन् । भारतको मध्यप्रदेशस्थित ग्वालियरमा यस्तो अनौठो घटना भएको हो । सामूहिक विवाहको क्रममा एक बेहुलीको बेहुला फेरिएका हुन् ।

बधू पक्षले सुरुमा जुन केटालाई हेरेका थिए, विवाहको समयमा बेहुलाको रुपमा ती युवक थिएनन्। अर्कै युवकलाई उनको सट्टामा राखिएको थियो। बेहुला फरक क्षमता भएका युवा थिए। त्यसपछि बेहुलीले उनीसँग विवाह गर्न अस्वीकार गरिन्। त्यस्तै समाजमा बदनाम हुने डरले परिवारले तत्कालै अर्को युवक खोजेर विवाह सम्पन्न गरे।

उक्त विवाह समारोहको आयोजना राठोर समाजले गरेको थियो। यो समारोहमा १७ जोडीको विवाह गराइएको थियो। यस्तोमा सबै जोडीबाट ३०, ३० हजार रुपैयाँ उठाइएको थियो। तर, त्यसको बदलामा केही पनि नदिएर ठगी गरेको आरोप राठोर समाजमाथि पनि लागेको छ।

उजुरीकर्ता वीरेन्द्र सिंहका अनुसार मार्च ४ मा भएको यो सामूहिक विवाहमा सामेल हुन उनी आफ्नी भाञ्जीलाई लिएर गएका थिए, उनीहरुले त्यहाँ एक युवक हेरेका थिए र मन पनि पराएका थिए। त्यससँगै उनीहरुको विवाह पक्का भएको थियो। यद्यपि विवाह प्रक्रिया सुरु हुँदा भने अर्कै युवकलाई राखिएको थियो। त्यसपछि विवाद उत्पन्न भएको थियो।

वीरेन्द्रका अनुसार बेहुला बनेर आएका युवा फरक क्षमताका थिए र उनी धनी परिवारका थिए। त्यसैले आयोजकले उनलाई बेहुलाको रुपमा मण्डपमा ल्याएका थिए। आयोजकले उनको विवाहको लागि ४ लाख लिएको वीरेन्द्रको आरोप छ।

आयोजकले भने सबै जोडीबाट ३० हजार रुपैयाँ उठाए पनि त्यसको सट्टामा ५५ हजारको सामान फिर्ता दिएको र बेहुला परिवर्तनको आरोप पनि निराधार रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस