विद्यालय व्यवस्थापन समिति चयन निर्वाचनमा दलहरूको प्यानलै खडा

ऐसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन उच्च माविको व्यवस्थापन समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा राजनीतिक दलहरूले प्यानलनै खडा गरेका छन् । जसका कारण विद्यालय व्यवस्थापन चयनको निर्वाचन राजनीतिक दलको निर्वाचन जस्तै बनेको थियो ।

निर्वाचनमा सत्तारुढ गठबन्धन दल एकातिर र नेकपा एमालेले प्यानल नै खडा गरेका थिए । शैक्षिक संस्थामा पकड जमाउने मनसायले गठबन्धन दलले सरोज राजभण्डारी र एमालेले टेकेन्द्र राजभण्डारीको नेतृत्वमा प्यानल बनाएका थिए ।

निर्वाचनबाट एमालेका उम्मेदवार टेकेन्द्रको प्यानल विजयी भयो । निर्वाचनमा तीन सय ५४ मत खसेकामा टेकेन्द्रले दुई सय २२ मत र प्रतिद्वन्द्वी सरोजले एक सय १७ मत प्राप्त गरे । १७ मत बदर भएको छ । टेकेन्द्रको प्यानलबाट श्रीकुमार राईले दुई सय १५, डोल्मा तामाङले दुई सय ३३ र सरिता श्रेष्ठले दुई सय दुई मत पाएका छन् । यस्तै, सरोजको प्यानलबाट मनकुमारी तामाङले एक सय ४२, होमबहादुर तामाङले एक सय १३ र पुण्यकुमारी वनले एक सय सात मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

गठबन्धन दल र एमालेले व्यवस्थापन समितिको निर्वाचनलाई आसन्न स्थानीय तहको निर्वाचनका लागि शक्ती परीक्षणका रुपमा समेत लिएका छन ।

प्रतिक्रिया दिनुहोस