नेपालमा नर्सको तलब, खाजा खर्च र बसभाडा पनि पुग्दैन

काठमाडौं । काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन ।

भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई\तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो ।

पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्।

जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् ।

जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्ट्रेलियामा छिन् । सुविनाले भनिन्, “सुरुमा धेरै गाह्रो छ । पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु ।”

नेपालमा एकजना नर्सले पाँचदेखि १० जनासम्म आईसीयूका बिरामी हेर्नुपर्ने स्थिति छ । नर्स र बिरामीको अनुपात नमिल्दा बिरामीलाई उचित स्याहार तथा हेरचाह गर्न नसकिने हुन्छ ।

सुत्केरी गराउने ठाउँमा एकजना बिरामीबराबर दुईजना नर्स चाहिनुपर्नेमा त्यहाँ एकजना नर्सले धेरैजना बिरामी हेर्नुपरेको नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौलाको भनाइ छ ।

नेपालमा कति नर्स बिदेसिएका छन् भन्ने कुनै तथ्याङ्क छैन । नर्सिङ महाशाखा प्रमुख निरौलाले बिदेसिएका नर्सको कुनै तथ्याङ्क नहुने बताइन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस