परिवारसहित बेलायतमा शरण दिने जोनसनको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

काठमाडौं- बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन् ।

यद्यपि जेलेन्स्कीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार उनको जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको छ ।

जोनसनले जेलेन्स्कीलाई ‘अत्यन्त आकर्षक व्यक्तित्व र प्रेरणाको स्रोत पनि साबित भएको ।’ बताएका छन् । जोनसनका अनुसार कुराकानीका क्रममा जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो ।

यद्यपि जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । ‘उनी सधैं स्पष्ट छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।’ जोनसनले भने ।

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमा सैनिक आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस