मोरङमा कर णीको आरोप लागेकालाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानिय जाइ लागे, एक महिला प्रहरीको मृत्यु

काठमाडौं,आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्यान्डबाई’ राखिएको थियो ।त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ । दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दुर्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।

शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराऊ गरेका थिए । दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थियो ।

विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्छ । साँझ ७ बजे आसपासको समयमा उर्मीला रहेको प्रहरी टोली घटनास्थल पुग्यो ।स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार गर्‍यो । स्थानीयमध्ये केही घरेलु हतियार पनि बोकेर आएका थिए । घटनास्थलमै रहेका एक प्रहरी अधिकारीले भने,“घरेलु हतियार, सिसाका बोतल हामीमाथि बर्सिए । प्रहरीलाई नै ज्यान जोगाउन मुस्किल भयो ।”

दोहरो झडपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घाइते भए । अध्यारो हुँदै गएपछि भीड आक्रोसित हुँदै गयो । प्रहरीलाई नै लखेट्न थाल्यो ।दोहोरो झडप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोमनराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बोतल, ढुङ्गामुढा बर्सिन थाले । त्यही क्रममा उर्लिएको भीडले उर्मीलामाथि आक्रमण गर्‍यो । उनले ज्यान जोगाउन सकिनन् । घाँटीमा धारिलो हतियारले प्रहार भयो ।”

अरुलाई सुरक्षित गर्न ड्युटीमा खटिएकी उर्मिला अपराधीहरुको हातबाट मारिइन् । अरुलाई जोगाइन् तर आफूलाई जोगाउन सकिनन् ।इन्सपेक्टर अर्याल आफैले उर्मिलालाई मैदानमा उठाएर मोटरसाइकलमा हालेर अस्पताल पठाए । रगताम्य उर्मिला अचेत थिइन् । प्रहरी पोशाकमा रगत बगिरहेको थियो । उनको मुटुको धड्कन थिएन ।

उनलाई अस्पतालले मृत घोषणा गर्‍यो । तर प्रहरी अधिकारीहरुले उर्मिला बाच्ने आश पहिल्यै गुमाइसकेका थिए ।०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो ।

उनका श्रीमान् इलाममा कार्यरत थिए । उर्मिलाका दाई पनि प्रहरी सेवामै मोरङमा कार्यरत छन् ।लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनी प्रहरी सेवामा भर्ना भएको सशस्त्र प्रहरी गणको टोली विराटनगरका इन्सपेक्टर रवि भुषण यादवले जानकारी दिए । उनका अनुसार उर्मिला अध्ययनमा अब्बल थिइन् भने अनुशासित प्रहरी कर्मचारी थिइन् ।

उनले भने,“उर्मिला एकदमै मेहनती र मिलनसार थिइन् । पढाइमा पनि उनी अब्बल थिइन् । उनलाई गुमाउँदा हामी दुःखी छौं । साथीहरु पनि शोकमा छन् ।”इलाममा कार्यरत नवीन श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर पुगेका छन् । प्रहरीले परम्पराअनुसार सलामी दिएर उर्मिलाको अन्त्यष्टिको तयारी गरेको छ ।

उर्मिलाका बुवाआमा पनि छोरीको अन्तिम संस्कारका लागि विराटनगर पुगेका छन् । उनको शव कोशी अस्पतालमा राखिएको छ । पोष्टमार्टमको तयारी भइरहेको छ ।आइतबारको घटनामा ३० प्रहरी र केही आन्दोलनकारी समेत घाइते भएका छन् । घटनास्थल लेटाङमा आज बिहानैदेखि कर्फर्यु आदेश जारी गरिएको छ ।आरोपी शिक्षक प्रहरी नियन्त्रणमा छन् । मोरङ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीमाथि कारवाही हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस