महिला प्रहरीको हत्याका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ, प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्।मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्।

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक महिला प्रहरीको मृत्यु भएको थियो ।प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको रहेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने बताए । वैशाख ३० मा स्थानीय निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेकोले कुनै शंका नगर्न आग्रह देउवाको आग्रह छ ।
प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैंचा नगरपालिकाले स्थापना गरेको ३५ शय्याको अस्पतालसमेत उद्घाटन गरे ।

तमोर कोरिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर कोरिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबार आङना–मौवा वृहत लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै देउवाले भने, ‘तमोर कोरिडोर आयोजनाको ट्रयाक खोलिसकिएको छ । छिटो कालोपत्रेको प्रक्रिया थाल्न म निर्देशन दिन्छु ।’ तमोर कोरिडोर कालोपत्रे भए पूर्वी पहाडमा उत्पादित कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुने छ । आयोजनाको एउटा खण्ड पाँचथरको माझिटारदेखि सुनसरीको चतरासम्मको निर्माण कार्यको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलाई छ ।

अर्को खण्ड माझिटारदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भने उत्तर–दक्षिण–दोभान ओलाङचुङगोला कार्यालयलाई निर्माणको जिम्मा छ । यी दुई आयोजना कार्यालयलाई कालोपत्रेको प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् । यस्तै, विस्तृत परियोजना प्रतिवेदन तयार भएको सप्तमी–दशमी–मौवा–आङ्ना–लखुवादोभान मोटरबाटो निर्माणको काम पनि छिट्टै थालनी हुने बताए ।

प्रतिक्रिया दिनुहोस