पेट्रोलको लाइनमा उभिँदाउभिँदै दुई जनाको मृत्यु

एजेन्सी, चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोलरग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो।

शनिबार क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको थियो। पाँच घन्टा लाइनमा उभिएका उनी बेहोस भएर लडेपछि अस्पताल लगिएको थियो तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। चर्को गर्मीमा घन्टौंसम्म लाइनमा बस्नुपर्दा श्रीलंकनले ज्यादै सास्ती भोग्नु परेको छ।

श्रीलंकामा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। जसको असर सर्वसाधारण देखि ब्यवसायहरुमा परेको छ । पुरै देश आर्थिक संकटमा परेको छ । श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्था भएपछि परिक्षा नै स्थगित गर्नु परेको छ । यो निर्णयसँगै श्रीलंकाका झन्डै ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटले २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर पारेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। सामान किन्न पसलहरूमा लामा लामा लाइन देखिन्छन्। केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस