मुद्दा दर्ता भएपछि अदालतमा पल शाहको बयान सुरू : यदि यो पुरा भए धरौटीमा रिहा हुन्छन् !

नाबालिग गायिका बलात्कार अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध आजै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियोे ।

३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिए । ‘सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ता गरेकाे थियो । अभियुक्तहरूको बयान लिने काम भइरहेकाे छ,’ उनले भने । दुवै पक्षका कानुन व्यवसायी बयानमा उपस्थित छन् ।

जिल्ला न्यायाधीशको रोहबरमा पल र उनका म्यानेजर जोशीले बयान दिइरहेका छन् । उनका अनुसार बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा सग्लन प्रमाणको आधारमा थुनछेक आदेश हुने उनले बताए । ‘प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुन्छ,’ उनले जानकारी दिए ।

१२ देखि १४ वर्षको कैद सजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएकाे जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा मुद्दा दर्ता गराएको शर्माले उल्लेख गरे । ‘पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता भएको हो,’ उनले स्पष्ट पारे ।

जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि आधा सजायको माग राख्दै मुद्दा दर्ता गरिएको छ । जोशी मतियार भएकाले शाहलाई हुने सजायको आधा सजाय मागसहित मुद्दा दर्ता गरेको उनले बताए ।

बाल गायिकालाई बलात्कार गरेको जाहेरी तनहुँ प्रहरीमा परेपछि उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । ११ फागुनमा नाबालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । सुरुमा बालिकाको परिवार कास्की प्रहरीमा उजुरी दिन पुगेको थियो । तर, अन्तिम पटक घटना तनहुँमा घटना भएको भन्दै कास्की प्रहरीले बालिकाको परिवारलाई तनहुँ पठायो । पलविरुद्ध दिएको जाहेरीमा अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बलातकार भएको उल्लेख छ ।

जाहेरी दिएपछि १५ फागुनमा पलले जिल्ला प्रहरी कार्यालय तनहुँमा अत्मासमर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिन म्याद दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा गत विहीबार सकिएको थियो । विहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो ।

उनका म्यानेजर जोशीमाथि पनि २७ फागुनमा दमौलीबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको थियो । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस