अष्ट्रेलियामा हुन्डी कारोबारमार्फत ठगी गर्ने नेपालीलाई जेल सजाय

काठमाडौं– हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको अभियोगमा अष्ट्रेलियामा एक जना नेपालीलाई झण्डै ४ वर्षको जेल सजाय सुनाइएको छ ।अष्ट्रेलियाका भिक्टोरिया काउन्टी अदालतले केसी थर भएका एकजना नेपालले हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको भन्दै उनलाई ४६ महिनाको जेल सजाय सुनाएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएको छ ।

उनले डेढ वर्ष प्रहरी हिरासतमा बिताइसकेको र बाँकी सजाय काट्नका लागि उनलाई कारागार चलान गरिएको छ । उनको अपराधका कारण धेरै परिवार प्रभावित भएको र उनले धेरैपटक एउटै अपराध दोहोर्‍याएकाले समाजमा थप खतरा हुनबाट रोक्न यस्तो फैसला सुनाइएको अदालतको भनाइ छ ।

फैसलाका क्रममा एक पीडितले आगामी ६ महिनाभित्र क्षतिपुर्ति रकम दाबी गरिएको बताएका छन् । उनको ठगीमा पर्ने अधिकांश विद्यार्थीहरू छन् । कतिपयको ३० हजार डलरभन्दा धेरै ठगी गरिएको बताइएको छ ।

झण्डै दुई वर्षअघि अष्ट्रेलियाका नेपाली समुदायका सदस्य र सञ्चारकर्मीको रोहबरमा उनले ठगी गरेको रकम फिर्ता गर्ने र आइन्दा यस्तो काम नगर्ने लिखित बाचा गरेपनि उनले ठगी धन्दा भने छाडेका थिएनन् ।

अष्ट्रेलियाको कानूनअनुसार एक वर्षभन्दा धेरै जेल सजाय दिइएका व्यक्तिलाई देश निकाला गर्ने प्रावधान छ । यसका लागि अध्यागमन निकायलाई समेत सूचित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस