एक वर्षअघि मात्र विवाह गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठ आफ्नो कर्तव्य पुरा गर्दै यसरि ज्यान गुमाइन (भिडियो सहित)

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन। प्रदेश नं १ गणबाट थप मद्दतका लागि टोली मगाएर शिक्षक पौडेललाई लैजाने तयारी भयो। प्रहरी जवान उर्मिला श्रेष्ठ पनि गणबाट लेटाङ जाने टोलीमा परिन्। उनी अढाई वर्ष पहिले मात्रै प्रहरी जवानमा भर्ती भएकी थिइन्।

खोटाङको फाक्टाङकी उर्मिलाको पहिलो पोस्टिङ त्यही गणमा भएको थियो। एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो। उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन्। उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन्। उर्मिलाका दाजु–भाउजू पनि प्रहरी नै हुन्। दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन्।

उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन्। भाउजू मीना जवान हुन्। उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन्। प्रहरी जवानमा उत्तीर्ण भएपछि उर्मिलाको पहिलो पोस्टिङ नै मोरङको रानीस्थित १ नं गणमा भएको थियो। उनी त्यहाँ दुई वर्षदेखि कार्यरत थिइन्। तर आइतबार छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यालयबाट सुरक्षितसाथ निकाल्न खोज्दा आफू मारिइन्।

शिक्षकलाई विद्यालयबाट बाहिर निकाल्न खोज्दा झडप भयो। स्थानीयको भीडले आक्रमण गर्‍यो। अरू भागेर जोगिए। तर उर्मिलाको घाँटीमा पटकपटक धारिलो हतियार प्रहार भयो। उनी त्यहीँ ढलिन्। अरू १७ जना प्रहरी पनि स्थानीयको ढुंगामुढाबाट घाइते भए। तर उनीहरूको अवस्था सामान्य नै छ। सबै घाइतेलाई कोसी अस्पताल लगियो। उर्मिलालाई भने कोसी अस्पताल (विराटनगर) ले राति १०:५० बजे मृत घोषणा गर्‍यो।

‘अहिले हामी अस्पतालमा जम्मा हुँदै छौं। उर्मिलाका बुबा पनि खोटाङबाट आइपुग्नुभयो’, उर्मिलाका मामा केशर श्रेष्ठले नेपालखबरसँग भने। मामा केशर पनि प्रहरी हवल्दार हुन्। उनी जिल्ला प्रशासन कार्यालय उदयपुरमा कार्यरत छन्। दाइको पदचाप पछ्याएकी उर्मिलाको जीवनसँगै राष्ट्रसेवकको यात्रा छोटै समयमा टुंगियो। अरूलाई सुरक्षा दिन लागिपरेका श्रेष्ठ परिवार आफैं शोकमा डुब्यो।

प्रतिक्रिया दिनुहोस